सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने सहमति


काठमाडौँ, ५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्षद्वयको बैठकले सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र नै लामो समयदेखि किचलो देखिएको विषयको नाममा सहमति जुटाएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार अध्यक्षद्वयको बैठकमा ओलीले सभामुखको उम्मेदवारका विषयमा सहमति नजुटे संसदीय दलबाट टुङ्ग्याऊँ भनेर प्रस्ताव गरेका थिए । त्यसपछि सभामुखमा सापकोटाको नाममा ओलीले सहमति जनाएको स्रोतको दाबी छ । आइतबार अपराह्न ४ बजे बस्ने नेकपा सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्