गायिका आस्था राउतविरुद्ध उजुरी दर्ता


काठमाडौँ, ५ माघ । गायिका आस्था राउतविरुद्ध प्रहरी परिसर काठमाडौँमा अभद्र व्यवहारको कसुरमा औपचारिक रूपमा उजुरी दर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले गत बिहीबार राउतले आफूमाथि ड्युटीमा रहेका बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको भन्दै महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा उजुरी दिएकी थिइन् ।

प्रहरी आयुक्तको कार्यालयले सिसिटिभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आधार मान्दै काठमाडौँ परिसरलाई औपचारिक रूपमा उजुरी दर्ता गरेर गायिका राउतमाथि कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेर गायिका राउतलाई अनुसन्धानका लागि झिकाउने प्रक्रिया अगाडि बढाउन लागेको बताएको छ । यो कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने छन् ।

प्रतिक्रिया दिनुहोस्