सामाजिक सञ्जालमा गायिका राउतले क्षमा मागिन


काठमाडौँ, २ माघ ।  चर्चित गायिका आस्था राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आफूमाथि विमानस्थल प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि अपमानित व्यवहार गरेको आरोप लगाएकी हुन् ।

भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गर्दै आफू एउटा सामाजिक व्यक्ति भए पनि विमानस्थलमा प्रहरीबाट अपमानित हुनु परेको अभिव्यक्ति दिएकी थिइन् । घटनाबारे छानबिन प्रक्रिया अगाडि बढाइसकिएको र प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् । छानबिन समितिको को–को रहेका छन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

भद्रपुर विमानस्थलमा रमिता नामकी महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी थिइन् । भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस्’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।

यसैबिच सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । गायिका राउतले माफी माग्दै ‘आवेशमा प्रयोग भएका केही शब्दहरूका लागि क्षमा मागेकी छन् ।

प्रतिक्रिया दिनुहोस्