केशु विरही –
प्रत्यक्ष वा परोक्ष रूपमा पत्रकारिता गर्न थालेको झन्डै अढाई दशक भइसकेछ । मेरो पत्रकारिता वि.स. २०५० साल पछिबाट सुरु भएको हो ।
सुरुका केही वर्ष सिकाइकै क्रममा बिते । त्यसपछि तेह्रथुमबाट प्रकाशन हुने ‘खोजतलास साप्ताहिक’, ‘ताप्लेजुङ साप्ताहिक’, पछि आफैले सम्पादन गरेको ‘अन्तर्दृष्टि’ साप्ताहिक, र काठमाडौँबाट प्रकाशन हुने ‘स्पेसटाईम, र ‘नेपाल समाचार पत्र’ हुँदै पूर्वका ‘मकालु टेलिभिजन’ तथा ‘संयन्त्र मिडिया प्रा.लि’ सम्मको यात्रा पूरा गर्दा पत्रकारितामा झन्डै अढाई दशक बिताइएछ ।
पूर्णकालीन वा अल्पकालीन जे भए पनि यो क्षेत्रबाट कहिल्यै टाढा भने रहन सकिएन । पत्रकारिताको नसा नै त्यस्तो रहेछ क्यार । छाडौँ भन्दा पनि छाड्नै नसकिने । केही वर्षलाई छाडेर मैले प्रायजसो निरन्तर रूपमै पत्रकारिता गरिरहिएको छु । यस क्रममा थुप्रै तितामिठा अनुभवहरू सँगालिएका छन् जुन मेरा लागि अमूल्य सम्पत्ति बनेर रहने छन् ।
देशमा आएको पछिल्लो परिवर्तनको मूल कारण १० वर्षे माओवादी जनयुद्ध वा जनविद्रोह पनि हो । मैले त्यो अवधिलाई नजिकबाट नियाल्ने अवसर पाएको छु । सदरमुकाम म्याङ्लुङ जाँदा विपक्षीको निगरानी वा आशंकामिश्रित नजर हुन् वा आठराई फर्कँदा सत्ता पक्षका अविश्वासी नजरहरू अथवा पछिपछि लगाइएका सिआइडीहरु हुन् । यी सबै यादहरू ऐठन बनेर मानसपटलमा बसिरहेका छन् । माओवादी जनयुद्धसँग जोडिएको विषयवस्तुहरूलाई नजिकबाट नियालेर उठान गर्ने क्रममा थुप्रै चुनौतीको सामना गर्नु नपरेको भने होइन । तै पनि यो पेसाबाट कहिल्यै हरेस खाइएन । कलमसँगको पवित्र नाता कहिल्यै तोडिएन ।
माओवादीलाई प्रत्यक्ष वा परोक्ष जुनसुकै रूपमा सहयोग पुग्ने काम गर्ने सबै माओवादी नै हुन् भन्ने सुरक्षा निकायको मनोविज्ञान, त्यस्तै लाग्ने भए लाग्छ नलाग्ने भए गाउँ छाडेर भाग्छ भन्ने माओवादीको मनोविज्ञानलाई समेत बेवास्ता गर्दै गाउँमै बसेर निरन्तर रूपमा पत्रकारिता गर्ने मानिस हुँ म । यो क्रममा तत्कालीन सत्ता वा विपक्षीका तर्फबाट भएका सबै घटनालाई उजागर गर्ने काम गरियो । यस्तो सङ्गिन घडीमा समेत पत्रकारिताको निष्पक्षता र तटस्थताका सिद्धान्तलाई नभुली चलेको कलम अव कसैको पक्ष र विपक्षमा वा दबाबमा चल्ला भन्ने कुरै आउँदैन । बरु लेख्नै छाडिन्छ तर ‘सही गलत र गलतलाई सही हो’ भनेर चाहिँ लेखिन्न भन्ने मेरो आदर्श अझै ज्युँका त्युँ छ ।
मानिस आफूले चाहेको ठाउँमा देशभर जहाँ पनि गएर अध्ययन अनुसन्धान, व्यापार व्यवसाय तथा बसोबाससमेत गर्न सक्छ । यो उसको संविधानप्रदत्त मौलिक हक पनि हो । हो, यही क्रममा म पनि आठराई, तेह्रथुम छाडेर उत्तरी मोरङको बेलबारीमा बसोबास गर्न पुगे । मलाई बेलबारी चिन्छ चिन्दैन त्यो म भन्न सक्दिन तर म भने बेलबारीलाई राम्ररी नै चिन्छु । वि.स. २०४५ सालमा मेरो पहिलो पहिला बेलबारीमा परेको हो । २०६० पछि त पूर्णकालीन रूपमै बेलबारीमा बसोबास गर्न पुगे । पुनकालीन रूपमै बसोबास गर्दै आएको नाताले मैले बेलबारीलाई अझ राम्ररी चिन्दछु भन्दा पनि अत्युक्ति नहोला ।
जीवनको चार दशकभन्दा बढीको उतारचढाव र अढाई दशकको पत्रकारिता पार गरिसक्दाको यो अवधिसम्म आइपुग्दा मैले कुनै पनि राजनैतिक पार्टीको सदस्यता लिएको छुईन र पछिल्लो समय राजनैतिक पार्टी र तिनका नेताको व्यवहार देख्दा राजनैतिक पार्टी र तिनका नेताप्रति म आकर्षितभन्दा बढी विकर्षित चाहिँ भएको छु । यो अवधिमा आफूले अनुभूत गरेका केही कुरालाई तल बुँदागत रूपमा समेट्ने जमर्को गरेको छु ।
मिडिया र मिडियाकर्मीहरु
पछिल्लो समय मिडियाहरू मिडियाजस्तै लाग्नै छाडेका छन् । अधिकांश मिडियाहाउसहरु पनि राजनैतिक पार्टी र तिनका भातृ वा भगिनी सङ्गठनजस्तै देखिन गएकाछन् ।
मिडियाहाउसको स्थापनादेखि लिएर त्यहाँ नियुक्ति हुने सम्वाददातासमेत कुनै न कुनै राजनैतिक आस्थाकै भरमा आउने गरेका छन् । राजनैतिक आस्था वा सिफारिस नै त्यहाँ आउनेको मुख्य आधार वा योग्यता बन्ने गरेको छ । मानिसको योग्यता र क्षमतालाई भन्दा पनि उसको राजनैतिक आस्थालाई नै मूल योग्यता ठान्दै आइएको देखिन्छ ।
कुरा घाम जत्तिकै छर्लङ्ग छ, एउटा राजनैतिक पार्टी वा तिनीहरूकै सिफारिसमा नियुक्त भएका व्यक्तिबाट निष्पक्षता वा तटस्थताको आसा गर्नु कति सम्मको मूर्खता हो । र त्यतिकै भ्रम पनि । सिफारिसबाट आएको व्यक्तिले निष्पक्षता र तटस्थताको नियम अपनाउन नै सक्दैन भन्ने मेरो बुझाई रहँदै आएको छ । र अहिले सम्मको अभ्यासले पनि त्यही कुरालाई पुष्टि गर्दै आएको छ ।
पत्रकारिताका राजनैतिक सङ्गठनहरू
प्रेस चौतारी र प्रेस सेन्टर मिलेर पछिल्लो समयमा प्रेस सङ्गठन बन्न पुगेको छ । यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको छाता सङ्गठन हो । त्यस्तै अर्को प्रेस युनियन नामक संस्था छ । यो नेपाली काङ्ग्रेस निकट पत्रकारहरूको छाता सङ्गठन हो । अरू पनि यस्ता केही सङ्गठन छन् जसले आफूलाई पत्रकारहरूको छाता सङ्गठन भनेर दाबी गर्छन् । तर यहाँ अन्य सङ्गठनका बारेमा चर्चा गरिएको छैन र गर्नु उपयुक्त ठानिएन पनि ।
प्रेस सङ्गठन र प्रेस युनियन नेकपा र नेका निकट पत्रकारहरूको छाता सङ्गठन भन्दा पनि तत् राजनैतिक पार्टीकै भातृसङ्गठनजस्तै देखिन्छन् । यी सङ्ठनहरुले पत्रकारितालाई व्यवस्थित तथा मर्यादित बनाउनेतर्फ ठोस कदम चाल्नै सकेनन् । यिनीहरू पत्रकारितालाई व्यवस्थित बनाउने, पत्रकारहरूको हकहितमा लड्नेभन्दा पनि पत्रकारिताको नामलाई भजाएर खाने ध्याउन्नमा मात्र देखिन्छन् । धेरैले त यसलाई राज्यका उपल्लो तहमा पुग्ने सिँढीको रूपमा मात्र प्रयोग गर्दै आएका छन् ।
यस्ता सङ्गठनमा भएका धेरले त पत्रकारिता कर्म नै गर्दैन । पत्रकारिता कर्म नै नगर्ने केको पत्रकार ? ती सङ्गठनमा अझ त्यस्ताकै बाहुल्यता रहेको छ । यतिसम्म कि ठेकेदार, ठुलठुला व्यापारी तथा नेताहरूले ती सङ्गठनका सदस्यता पाएका छन् । यस्ता सङ्गठनहरूमा त्यस्ताकै बाहुल्यता रहेको छ । यस्ता मानिसहरू पार्टीको निर्देशनमा कहिले हनुमान बनेर त कहिले अरिङ्गाल बनेर अरूमाथि खन्दिन्छन् । पार्टीको निर्देशन मात्र मान्ने, पत्रकारिता कर्म नै नगर्नेलाई पत्रकार नभनेर पार्टीका भातृसङ्गठन नै मान्नु बेस हुने मेरो राय रहेको छ ।
पछिल्लो समय पत्रकारिताप्रति जनताको अविश्वास घट्दै जानुमा पनि यी र यस्तै मानिसहरूको ठुलो हात रहेको छ । यिनीहरूले पत्रकारितालाई पत्रकारिताको रुपाभन्दा पनि त्यसलाई भजाएर खाने र (माथि) सत्तामा जाने भ-याङ बनाउने कार्यमा मात्र समय खर्चँदै आउँदा पत्रकारिताप्रति नै आँच आएको हो । पत्रकारिताप्रति जनताको विश्वास घटेको हो ।
पत्रकारितालाई मर्यादित बनाउन
निसन्देह समाज परिवर्तनमा मिडिया र मिडियाकर्मीको ठुलो योगदान रहेको छ । राजतन्त्र, प्रजातन्त्र हुँदै देश सङ्घीय गणतन्त्रमा आइपुग्दा मिडियाको अतुलनीय योगदान रहेको छ । यो योगदान र मिडियाको महत्त्वलाई बचाईराख्न सक्नु पर्थ्यो तर त्यो हुन सकिरहेको छैन ।
मिडिया र मिडियाकर्मी निष्पक्ष नरहेसम्म जनताले सही अर्थमा गणतन्त्रको प्रत्याभूति समेत गर्न सक्दैनन् । उनीहरूले पाउने सूचनाको हकको कुरा त टाढैको कुरो हो । मिडियालाई निष्पक्ष बनाउनु आजको एउटा चुनौती र आवश्यकता पनि हो । मिडियालाई व्यवस्थित बनाउन पत्रकारिता नामका राजनैतिक सङ्यठनहरुको अविलम्ब खारेजी गरिनु पर्छ । एउटा स्वतन्त्र संस्था (पत्रकार महासङ्घ) बाहेकका अन्य सङ्घ सङ्गठन खोल्न प्रतिबन्ध लाउनु पर्छ ।
पत्रकारिताको महत्त्व दिनानुदिन बढ्दो छ । युवा पुस्तामा पत्रकारिताको आकर्षण झन् बढ्दो छ यो राम्रो लक्षण हो । अव विद्यालयस्तर देखि नै पत्रकारिता सम्बन्धी पठनपाठन हुनुपर्छ । परिपक्व मानिसले मात्र सही निर्णय लिन सक्छ भन्ने हाम्रो मान्यता रही आएको छ । यो मान्यतालाई अक्षुर्ण राख्न पत्रकारिता क्षेत्रको प्रवेशलाई पनि केही कडाइ गरिनु आवश्यक देखिन्छ ।
हालको ऐनले १२ कक्षा उत्तीर्ण गरेको जोहोकीले पनि यो पेसा अपनाउनलाई बाटो खोलिदिएको छ । विद्यालय स्तरको अध्ययन भर्खर सिद्धाएका व्यक्ति त्यति परिपक्व नहुन सक्छन् । उनीहरू ठिक र बेठिक छुट्ट्याउन सक्ने अवस्थामै पुगेका नहुन सक्छन् । तसर्थ पत्रकारितामा प्रवेशको यो पहिलो सर्तलाई केही परिवर्तन गर्नु पर्ने देखिन्छ । अव कम्तीमा पत्रकारिता विषय लिएर स्नातक पूरा गरेकालाई मात्र यो क्षेत्रमा प्रवेश दिनु उपयुक्त देखिन्छ ।
त्यसै गरी हालको मौजुदा ऐनमा स्नातक गरेकाले सम्पादक बन्न सक्ने प्रावधान रहेको छ । त्यसो त उसको पत्रकारिताको अनुभवलाई पनि केही आधार बनाएको पनि देखिन्छ । अनुभवले पत्रकारिता तथा सम्पादनलाई सहयोग नै पुर्याउछ । तर तिनलाई मात्र सम्पादकको योग्यता ठानिनु चाहिँ भुल हुने छ । स्नातकोत्तर सम्मको अध्ययनले मात्र पनि सम्पादकको योग्यता पूर्ण हुन्छ भन्ने चाहिँ होइन । सम्पादन कार्य त्यति सहज छैन, कुन विषय छाप्ने नपाप्ने सबै अधिकार उसैमा निहित रहन्छ । कुन म्याटर छाप्दा के हुन्छ भन्ने विवेक पुर्याउन नसक्दा ठुला ठुला घटना समेत घट्ने गरेका छन् । मिडियाले वद्नामी समेत व्यहोरेका घटनाहरू पनि छन् । पत्रिकामा छापिएका सबै कुराको जबाफदेही सम्पादकले नै बन्नु पर्ने हुन्छ । त्यस्तै पत्रकारितामा प्रवेश गर्नेले भाषा, राजनीति, अर्थशास्त्र, कानुन, इतिहास जस्ता विषयको ज्ञान हुनु आवश्यक छ । झन् सम्पादकका लागि त यी अनिवार्य सर्त नै हुन ।
साथै पत्रकारितालाई मर्यादित तथा व्यवस्थित पार्न अर्को नभै नहुने सर्त भनेको मिडियालाई राजनीतिबाट अलग गराउनु पनि हो । पछिल्लो समयमा यो सर्त आवश्यक मात्र नभएर अत्यावश्यक भएको छ । कुनै पनि राजनैतिक पार्टी र तिनका सङ्गठनमा अवद्ध रहेका व्यक्तिलाई मिडिया प्रवेशलाई अयोग्य ठहरिने ऐनमा व्यवस्था गर्नु आवश्यक देखिन्छ । मिडियालाई स्वतन्त्र र निष्पक्ष बनाउन सकियो भने मात्र हामी यो पेसासँग जोडिएकाहरू ‘हामी मिडियाकर्मी है’ भन्न सक्छौँ नत्र मिडियाकर्मी हुँ भन्दा शिर झुकाएर हिँड्नु पर्ने दिन नआउला भन्न पनि के बेर ।
– (लेखक लामो समय देखि पत्रकारिता पेसासँग आबद्ध रहँदै आएका छन् ।)