मोरङ । मोरङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इरन कुमार राईले आफ्नो औपचारिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । क्षेत्र नं. ३ बाट प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये सबैभन्दा पहिला विस्तृत एजेन्डासहित प्रतिबद्धता सार्वजनिक गर्दै राई चुनावी मैदानमा उत्रिएका हुन् । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन, सामाजिक न्याय, सुशासन र समृद्धिलाई आफ्नो मुख्य ध्येयका रूपमा अघि सारे ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका राई शिक्षा क्षेत्रबाट राजनीतिमा आएका व्यक्ति हुन् । राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्र केन्द्रीय सल्लाहकार परिषद्का सदस्य युवराज बाँस्कोटाको नेतृत्वमा तयार गरिएको जनाइएको छ । उनले आफ्नो एजेन्डामा संविधान संशोधनमार्फत संघीय संरचनाको प्रभावकारिता बढाउने, प्रदेश संरचनालाई आर्थिक रूपमा मितव्ययी र प्रशासनिक रूपमा चुस्त बनाउने तथा कानुनको समान कार्यान्वयन सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, डिजिटल सेवा प्रवाह र ई-गभर्नेन्समार्फत सुशासन स्थापना गर्ने उनको प्रतिबद्धता छ । उनले सार्वजनिक खर्च, नीति र निर्णयलाई खुला सूचना प्रणालीमार्फत पारदर्शी बनाउने र जनप्रतिनिधि तथा कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउने बताएका छन् ।

कृषि क्षेत्रमा आत्मनिर्भरता, सिँचाइ विस्तार, मलखाद तथा बीउबिजनको सुलभता, कृषक पेन्सन र बिमा कार्यक्रम विस्तार गर्ने योजनासमेत प्रतिबद्धता पत्रमा उल्लेख छन् । पर्यटन प्रवर्द्धन, क्षेत्रीय सडक तथा पूर्वाधार स्तरोन्नति, औद्योगिक क्षेत्र सञ्चालन, फोहोर प्रशोधन केन्द्र स्थापना र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजनालाई पनि प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्य क्षेत्रमा महिला विशेष रोगको निःशुल्क उपचार, मातृत्व सुरक्षाको कार्यक्रम, सामाजिक सुरक्षा भत्ता वृद्धि तथा स्वास्थ्य बिमालाई पाँच लाखसम्म विस्तार गर्ने प्रस्ताव गरिएको छ । शिक्षा क्षेत्रमा नमुना विद्यालय र महाविद्यालय विकास, पूर्वाञ्चल विश्वविद्यालयमा सुविधा सम्पन्न अस्पताल निर्माण तथा विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत आंशिक रोजगारीको अवसर उपलब्ध गराउने योजना अघि सारिएको छ ।

जेन-जी पुस्ताको ऊर्जालाई सिर्जनात्मक दिशामा उपयोग गर्ने, युवा रोजगारी परामर्श केन्द्र स्थापना गर्ने, खेलकुद पूर्वाधार विकास गर्ने तथा सेवा-निवृत्त जनशक्तिको अनुभवलाई समाज रूपान्तरणमा उपयोग गर्ने योजना पनि समेटिएको छ । राईले लोकतन्त्रमा मताधिकार नागरिकको सर्वोच्च शक्ति भएको उल्लेख गर्दै ‘सूर्य’ चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेका छन् ।

मोरङ-३ मा प्रतिस्पर्धा रोचक बन्दै जाँदा राईको प्रारम्भिक रूपमा सार्वजनिक गरिएको विस्तृत प्रतिबद्धतापत्रले चुनावी बहसलाई नीति र कार्यक्रम केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।
चुनावी समीकरण फेरिँदै
अघिल्लो निर्वाचनमा (२०७९ साल) करिब २२ हजार मतान्तरले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई पराजित गर्दै विजयी बनेका नेपाली काँग्रेस का डा. सुनिल शर्मा यस पटक भने सहज अवस्थामा देखिँदैनन् । २०७४ मा शर्मा ढकालसँग १ हजार ९०७ मतान्तरले पराजित भएका थिए ।

( डा. सुनिल शर्मा )
तर शर्माले २०७९ सालमा ४८ हजार ६३१ मत ल्याएका थिए भने ढकालले २५ हजार ८९५ मत ल्याए । २२ हजार ७३६ मतान्तरले शर्माले ढकाललाई पराजित गरेका थिए । यस पटक एमालेबाट शिक्षा, साहित्य जस्तो बौद्धिक/प्राज्ञिक क्षेत्रमा बढी सक्रिय व्यक्तित्व इरन कुमार राई उम्मेदवार बनेपछि चुनावी समीकरण बदलिएको आकलन गरिएको छ ।

( इरन कुमार राई )
राजनीतिक विश्लेषकहरूका अनुसार राईको उम्मेदवारीले एमालेको परम्परागत मतदातालाई पुनः सक्रिय बनाएको छ भने शिक्षा क्षेत्रबाट आएको उनको छवि र स्थानीय नेटवर्कले प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ । अघिल्लो निर्वाचनमा देखिएको ठुलो मतान्तर यस पटक दोहोरिन सहज नहुने संकेत देखिएको बताइन्छ ।
राई बेलबारी नगरपालिका-१ स्थित सगरमाथा इङ्लिस स्कुलका सञ्चालक तथा पूर्वप्रधानाध्यापक हुन् । शैक्षिक नेतृत्वको अनुभव बोकेका राई विकास, सुशासन र संरचनागत सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. शर्मा स्वास्थ्य व्यवसायसँग जोडिएका व्यक्ति हुन् ।

( डा. सुनिल शर्मा र गणेश कार्की )
उनी विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, काठमाडौँमा रहेको के.एम.सीका सञ्चालक पनि हुन् । स्वयं शर्माले विभिन्न सार्वजनिक कार्यक्रममा आफू ठुलो लगानीसहित स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको र अर्बौँ रुपैयाँ बराबरको कारोबार गर्ने दाबी गर्दै आएका छन् ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले चुनावी मैदानलाई थप रोचक बनाएका छन् । लामो समय आफ्नो क्षेत्रमा अवसरको अभावका कारण बाहिर कर्मथलो बनाएको बताउँदै आएका कार्की पथरीशनिश्चरे नगरपालिका निवासी हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट सम्बन्धका कारण परिचित कार्कीले आफूलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधि बताउँदै आएका छन् ।

( गणेश कार्की )
कार्कीले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमहरूमा स्वास्थ्य क्षेत्रको नाममा मतदाता प्रभावित पार्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै आएका छन् । उनी जनतामाझ “प्रलोभन होइन, पारदर्शी नीति र जबाफदेहिता” आवश्यक रहेको सन्देश दिन खोजिरहेका देखिन्छन् । सबै नेपाली जनताको स्वास्थ्य क्षेत्रमा सम्मान पहुँच हुनु पर्ने बत्ताउँछन् । यसले प्रत्यक्ष रूपमा डा. शर्मामाथि वैचारिक दबाब सिर्जना गरेको छ ।

( अमिर मगर )
यस क्षेत्रबाट अन्य दलका उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली कम्युनिस्ट पार्टीका डा. देउमान सम्बाहाङ्फे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम प्रसाद सुवेदी, जनता समाजवादी पार्टी, नेपालका मजेबुल रहमान, आम जनता पार्टीका कमल कुमार राई, नेपाल मजदुर किसान पार्टीका प्रशुराम विश्वास थारु, उज्यालो नेपाल पार्टीका मित्रसेन योञ्जन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्ग बहादुर कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्ली बहादुर जबेगु गरी जम्मा १८ जना उम्मेदवारहरू मैदानमा छन् ।
मोरङ-३ लाई पनि यस पटक विशेष राजनीतिक चासोको केन्द्र बनाएको छ । शिक्षा, स्वास्थ्य, वैकल्पिक राजनीति र विचारधारात्मक धारहरूबिचको प्रतिस्पर्धाले मतदातालाई विकल्पहरूको विस्तृत दायरा प्रदान गरेको छ भने अब अन्तिम निर्णय मतपेटिकाबाट नै सार्वजनिक हुनेछ ।

( डा. देउमान सम्बाहाङ्फे )


