खोटाङ, २९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
विद्युत् सर्टबाट घरमा आगलागी हुँदा दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो ।
आगलागीमा ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताएका छन् । बिहान करिब ८ः०० बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो ।
अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुन् । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।