पुरानो संसद् भवन भत्काएर नयाँ बनाउन समितिको निर्देशन


काठमाडौँ ,२९ पुस ।  सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि संसद्को विकास तथा प्रविधि समितिले पुरानो संसद् भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पुरातत्त्व विभागबिच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहदरबारभित्र रहेको पुरानो संसद् भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको बताएका छन् ।
पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउन सकिने बताए ।

‘स्टेट गेस्ट हाउस बनाउनुपर्ने कुरा पनि आएको छ तर निर्क्योल भने भएको छैन । पुनर्निर्माण गरेर प्रयोग गर्न सम्भव छैन । नयाँ बनाउँदा अहिलेकै जस्तो बनाउने कि स्टेट गेस्ट हाउस बनाउने भन्ने द्विविधामा रहेको शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्