निजगढ विमानस्थल, काठमाडौँ–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने


काठमाडौँ ,२९ पुस । निजगढ विमानस्थल, काठमाडौँ–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने भएको छ । प्रस्तावित निजगढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका अर्थमन्त्री डा. युवराज खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने उल्लेख गरेका छन् ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय जहाँबाट भए पनि स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण गरिने उनको प्रतिबद्धता थियो । देशका लागि महत्त्वपूर्ण आयोजना भएका कारण सबै पक्षले यसमा सहयोग गर्नुपर्ने उनले बताए ।

मङ्गलवार नै रेल्वे आयोजनाको समेत अनुगमन गरेका उनले रेल छिट्टै सञ्चालनमा आउने आश्वासन जनकपुरवासीलाई दिएका छन् । रेलका डिब्बा बन्ने क्रममा रहेको भन्दै यस आयोजनाले पनि स्रोतको अभाव भोग्नु नपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्