प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै काँग्रेसको आपत्ति


काठमाडौँ ,२७ पुस । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका रहने भएकोले ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारुढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद रहेको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै तत्काल निकास दिन सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सचेत गराएको छ ।
नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने पक्षमा सहमति नजुट्दा आइतबार बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन एउटा बैठक बसेपछि पटक पटक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्