कुलुङ समुदायले चाक्चाकुर मनाउँदै येले सम्वत ५०८० को स्वागत गरे


बेलबारी, २६ पुस  /  कुलुङ समुदायहरूले शनिवार येले सम्वत ५०८० भव्यताका साथ मनाएका छन् । नेपाल किराँत कुलुङ भाषा सांस्कृतिक उत्थान सङ्घ जिल्ला समन्वय समिति मोरङको आयोजनामा मिनारी दाचाम चासुम लो निङदोङ चाक्चाकुरको उपलक्ष्यमा बेलबारी ११ स्थित धार्मिक बनमा येले सम्वत ५०८० को शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी मनाएका हुन ।

कार्यक्रमको उद्घाटनमा मोरङ क्षेत्र नं.३ का प्रदेश सांसद राजकुमार ओझाले दिव प्रज्वलन गरेका थिए । उद्घाटनको क्रममा कुलुङ समुदायको मौलिक पूजा तथा सांस्कृतिक नृत्य गरेका थिए । उक्त उद्घाटनमा कार्यक्रमका प्रमुख अतिथि तथा सांसद ओझा सहित उपस्थित अतिथिहरू पनि रमाउँदै कुलुङ समुदायहरू सांस्कृतिक नृत्य गरे ।

कार्यक्रममा बोल्दै सूचीकृत हुन बाकी कुलुङ लगायतका जातिहरूलाई सूचीकृत गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई आग्रह गरेको सांसद ओझाले बताएका छन् । सो आग्रहलाई मन्त्री ढकालले कार्यान्वयन गर्ने, सांसद ओझाले बताएका छन् ।

नेपाल किराँत कुलुङ भाषा सांस्कृतिक उत्थान सङ्घ, प्रदेश नं. १ का अध्यक्ष आशधन कुलुङले चाक्चाकुरको बारेका जानकारी दिए । उनले किराँतीहरूको नयाँ वर्ष येले सम्वतमा चाक्चाकुरलाई कुलुङ दाजुभाइ दिदीबहिनी सबै एक ठाउँमा भेला भएर प्रकृतिको पूजा गरेर, पारम्परिक खाना खाएर हर्षोल्लासका साथ मनाउने गरेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुली, नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् बेलबारीका अध्यक्ष तिलक प्रसाद राई, उर्लाबारीका अध्यक्ष मणि श्रेष्ठ लगायतले शुभकामना प्रदान गरे ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ, पथरी शनिश्चरेका उपप्रमुख यमुना विष्ट, नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् सुन्दरहरैचाका अध्यक्ष सुमन याक्खा, किराँत विद्यार्थी सङ्घ केन्द्रीय सदस्य तथा पथरी बहूमुखी क्याम्पस स्ववियु उपसभापति नितावार्षी कुलुङ लगायतको उपस्थिति रहेको थियो ।

किराँत राई यायोख्खा नगर कार्य समिति बेलबारी नगरपालिकाले पनि यले सम्बत् ५०८० को स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ मनाएको छ । बेलबारी ३ स्थित किराँत राई यायोख्खाको धार्मिक बनमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्