राष्ट्रियसभाका सदस्यहरूलाई निर्वाचन चिन्ह प्रदान


काठमाडौँ, २६ पुस ।  राष्ट्रियसभाका निर्वाचनका लागि विभिन्न पार्टीका सदस्यहरूलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । पुस २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ दफा ६ अनुसार आयोगले चिन्ह प्रदान गरेको हो ।

उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदुर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् ।

सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्