श्रीपुरमा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दा, टिपरले किचेर एक युवकको हत्या


धनुषा, २५ पुस । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा एक युवकको हत्या भएको छ । शुक्रवार २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार उनको घरनजिकको नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्दे आएका महतोलाई टिपरले किचेर हत्या गरेको हो । इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक रामकुमार यादवले महतोलाई जबरजस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेर हत्या गरेको बताएका छन् ।

मर्निङवाकमा रहेका महतोलाई बिहान साढे चारबजे टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि नियोजित हत्या भएको आरोप लगाउँदै स्थानीयहरू विरोध प्रदर्शनमा उत्रेका छन् ।घटनाको विरोधमा मिथिला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार घटनाको प्रकृति हेर्दा पूर्ण रूपले नियोजित ढङ्गले किचेर हत्या भएको देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्