किराँती नयाँ वर्षमा मुख्यमन्त्री शेरधनद्वारा पवन चाम्लिङलाई सम्मान गरिने


काठमाडौँ  ,२३ पुस ।  किराँतीहरूले मान्दै आएको यले सम्वत ५०८० विगत वर्षहरुभन्दा भव्य बनाउन किराँत राई यायोक्खा केन्द्रित समिति तयारीमा लागिरहेको छ ।

किराँती यले सम्वत नयाँ वर्षको अवसरमा यायोक्खाले सिक्किमका निवर्तमान मुख्यमन्त्री डा. पवन चाम्लिङलाई “हा यलम्बर स्मृति पुरस्कार ५०८०” सम्मान गर्दै छ । पुरस्कार राशि २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

प्रजातान्त्रिक पद्धतिबाट २५ वर्ष लामो शासन गर्दा पूर्व मुख्यमन्त्री चाम्लिङले भाषिक, सांस्कृतिक रूपमा योगदान गर्नुको साथै समुदायको शिर उच्च बनाउन योगदान गरेकोमा उक्त सम्मान गर्न लागेको यायोक्खा अध्यक्ष दिवस राईले बताए ।

सम्मान तथा शुभकामना आदानप्रदानको साथै सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ को मुख्यमन्त्री शेरधन राई आउने निश्चित भएको महासचिव जनक राईले बताए ।

माघ १ गते राष्ट्रिय सभागृहमा हुने भव्य कार्यक्रममा सहभागीहरूलाई सेल रोटी, उसिनेको तरुल र पिरो गुद्रुकको अचार खुवाउन
उपाध्यक्ष राकेश राई, कोषाध्यक्ष देवान राई, सहकोषाध्यक्ष परशुराम राई, केन्द्रीय सदस्य सर्वधन राई लगायतको टोली लागिरहेका छन् । कार्यक्रममा घर पालुवा वदेलको मासुबाट बनाइने अचारको समेत तयारी भइरहेको केन्द्रीय सदस्य सर्वधन राईले बताए ।

यसै सन्दर्भमा प्रचार विभागले अध्यक्ष दिवस राईको उपस्थितिमा यायोक्खा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्ला समितिहरू, भाषिक तथा भातृ संस्थाकाको नेतृत्वसहितको बैठक बसेर प्रचारमा लागिरहेको सचिव समेत रहेका विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए । विभागले निमन्त्रणा कार्ड, निम्तो सम्बन्धी अडियो, भिडियो मार्फतपनी माघ १ गते १ बजे काठमाडौँको राष्ट्रिय सभागृह आउनु अनुरोध गरेका छन् ।

नयाँ वर्षलाई उत्सवको रूपमा मनाउन घरघरमा दीप प्रज्वलन र प्रदेश १ को नाम किराँत राख्न दबाब दिन अभियानको रूपमा मनाउन यायोक्खाले मतहतको संगठनहरुलाई सर्कुलर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्