काँग्रेस सभापति शेरबहादुर देउवालाई दबाब


काठमाडौँ, २१ पुस । काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूमार्फत काँग्रेस सभापति शेरबहादुर देउवालाई दबाब सिर्जना गर्ने रणनीति अघि सारेको छ ।

पटक–पटकको बैठक बहिष्कारले पनि काँग्रेस सभापति शेरबहादुर देउवा नरम नदेखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूमार्फत दबाब सिर्जना गर्ने रणनीति अघि सारेका हुन ।

सभापति देउवाले गत पुस ११ गते बहुमतको बलमा केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको सङ्ख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल–सिटौला पक्ष विरोधमा उत्रिएका हुन् ।

भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौलाको समूह पनि सामेल हुने तर सिटौला अहिले धनकुटामा रहेकोले उनी भेलामा आइपुग्ने नपुग्ने कुनै निश्चित नभएको काँग्रेस स्रोतले बताएका छन् । पौडेल र सिटौला पक्षमा ४० भन्दा बढी जिल्लाका पार्टी सभापति छन् । उनीहरूले गर्ने निर्णयले देउवालाई ठुलो दबाब पर्ने असन्तुष्ट पक्षको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्