सभापति देउवाको काँग्रेसभित्रै चर्को आलोचना : गुट छाड्न सुझाव


मोरङ, १७ पुस । नेपाली काँग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले सभापति देउवाको व्यवहार प्रति चर्को आलोचना गरे ।

कार्यक्रममा काँग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टी सभापति देउवाले नैतिकता गुमाएर नेतृत्वमा बसिरहँदा काँग्रेस कमजोर बन्दै गएको बताए । ठुला–ठुला भ्रष्टाचारका विषयमा सभापति देउवाको नाम जोडिदा प्रतिपक्षको भूमिकामा काँग्रेस खरो उत्रन नसकेको नेता कोइरालाको ठहर छ । ‘ह्वाईटबडी काण्ड, बालुवाटार जग्गा प्रकरण, यति होल्डिङ्स जस्ता कुरामा हाम्रा सभापतिको नाम जोडिन्छ । यो विषयमा उहाँ नैतिक धरातलमा उभिन सक्नुहुन्छ ? प्रश्न गर्दै उनले भने ‘नैतिक धरातल गुमाईसकेको व्यक्ति नेतृत्वमा रहिरहँदा अहिले अफ्ठेरो परिस्थिति आएको छ ।’

काँग्रेस पार्टी राणा, राजाहरूसँग लडेर आएको स्मरण गर्दै नेता कोइरालाले अहिले पार्टी सभापति देउवाको कमजोरीका कारण कम्युनिस्ट पार्टीको सरकार सामु प्रतिपक्षको भूमिकामा पनि बोल्न नसक्नु दुर्भाग्य भएको टिप्पणी गरे । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले सभापति देउवाले सभापतिको भूमिका निर्वाह गर्न नसक्दा पार्टीमा समस्या सृजना भएको बताए । ‘सभापति भनेको अभिभावक हो । अभिभावकले पार्टीमा सबैलाई मिलाएर अघि बढ्नु पर्छ । सभापतिले गुट चलाएर कसैलाई काखा, कसैलाई पाखा गर्ने हैन, सबैलाई न्याय दिन्छु भनेर अघि बढ्नुपर्छ ।’ उनले भने ।

काँग्रेसको इतिहासमा यसअघि सधैँ सहमतिबाटै महाधिवेशनको मिति तोकिने गरेको भन्दै उनले अहिले पनि सहमतिकै आधारमा मिति निर्धारण गर्नुपर्ने अडान दोहोर्‍याए । फरक प्रशंगमा उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता मूलभूत विषयलाई निमोठेर सरकारले प्रजातन्त्रलाई धरापमा पारेको आरोप पनि लगाए । विपीको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा पनि उनले जोड दिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिपक्षको भूमिका काँग्रेसले प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको स्वीकार गर्दै पार्टी नेतृत्वलाई सच्चिएर अघि बढ्न सुझाव दिए । सरकार भ्रष्टाचारको दलदलमा फसेर जनतालाई चुस्ने काम गरिरहेको भन्दै उनले अव सरकारका गलत कामको भण्डाफोर गर्ने गरी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता ल्याए । पार्टीमा बहुमतको दम्भ देखाएर एकलौटी रूपमा अघि बढ्ने परिपार्टी हाबी हुँदै गएको भन्दै उनले विधान मिचेर अघि बढ्ने छुट कसैलाई नभएको प्रस्ट पारे ।

काँग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले काँग्रेसको केन्द्रीय नेतृत्वले एकलौटी काम गरेर विभाजन निम्त्याएको आरोप लगाए । पार्टी सभापति देउवाले अहिलेको परिस्थितिलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगत राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउन सभापति देउवालाई सुझाव दिए । ‘पार्टी सभापति अव गुटको मात्र नेता नभई सिङ्गो पार्टीको नेता बन्नुपर्छ ।’ संगौलाले भने । कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले सभापति देउवा प्रति असन्तुष्टि जनाउँदै सच्चिएर अघि बढ्न सुझाव दिएका छन् ।

सभापति देउवाको स्वागतमा काँग्रेसकै नेता गएनन्

यसैबिच मोरङमा सभापति देउवाप्रतिको असन्तुष्टि वैचारिक रूपमा मात्र नभई व्यवहारिक रुपासमेत देखिन थालेको छ । केन्द्रीय नेता आउँदा प्राय अधिकांश पदाधिकारीसहित नेताहरू स्वागतका लागि विराटनगर विमानस्थल पुग्ने गरेको भए पनि बुधवार त्यस्तो भएन ।

मेलमिलाप दिवस विशेष कार्यक्रमलाई सम्बोधनका लागि सुनसरी जाँने क्रममा विराटनगर विमानस्थल अवतरण गर्दा काँग्रेस मोरङका अधिकांश पदाधिकारी देउवाको स्वागतमा गएनन् । यसले पनि देउवाप्रतिको असन्तुष्टि चुलिँदै गएको पुष्टि हुने काँग्रेस स्थानीय नेताहरूको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्