नेपाल भ्रमण २०२० लाई स्वागत गर्दै भाउन्नेमा “लाइभ कन्सर्ट २०२०” सम्पन्न


बेलबारी, १७ पुस  /  नेपाल भ्रमण २०२० लाई स्वागत गर्दै डाँगिहाट फुटबल क्लबको आयोजनामा बेलबारीमा “लाइभ कन्सर्ट २०२०” सम्पन्न भएको छ ।

बुधवार बेलबारी १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रङ्गशालामा “लाइभ कन्सर्ट २०२०” कार्यक्रम सम्पन्न भएको हो । साङ्गीतिक कार्यक्रम “लाइभ कन्सर्ट २०२०” मा चर्चित गायक सविन राई सहित निरनय श्रेष्ठ र प्रस्न शाक्यको प्रमुख प्रस्तुति रहेको थियो ।

सविनले आफ्नो ४५ मिनेट भन्दा लामो प्रस्तुतिमा सबैलाई गीतद्वारा नचाएका थिए । “लाइभ कन्सर्ट २०२०” कार्यक्रम नै सविनमय भएको थियो । बालबालिका देखी वृद्धसम्म सविनको गीतमा रमाउन हजारौँको सङ्ख्यामा मानिसहरूको उल्लेख्य उपस्थित रहेको थियो ।

निरनय श्रेष्ठ र प्रस्न शाक्यले आफ्नो प्रस्तुति दिँदै बेलबारीको पर्यटक स्थलको बारेमा चासो देखाएका थिए । मञ्चबाट नै बेलबारीको पर्यटक स्थलको बारेमा उपस्थित दर्शकहरूलाई प्रश्न गरेका थिए । उपस्थित दर्शकको भिड्ले धम्पालगढी, बेतना, सिर्जन पार्क, रमिते डाँडा लगायत स्थानीय पर्यटक स्थलको नाम लिनबाट भने कोही चुकेनन् ।

कार्यक्रम, क्लबका अध्यक्ष छत्र लिम्बुको अध्यक्षतामा भएको हो भने सञ्चालन महेश लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्