गुरुङ समुदायहरूले मुसा वर्षलाई स्वागत र मृग वर्षको बिदाइ गर्दै छन् : तमु ल्होसार


बेलबारी , १५ पुस । विश्वभरिका गुरुङ समुदायहरूले आज (मङ्गलवार) मुसा वर्षलाई स्वागत गरेर मृग वर्षको बिदाइ गर्दै तमु ल्होसार मनाउँदै छन् । तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलवारीले पनि हर्षोल्लासको साथ ल्होसार मनाउँदै छन् ।

सधैँ बेलबारी वाड नं. ३ स्थित तमु बुद्धिष्ट गुम्बामा मनाउने ल्होसार यस पटक भने वाड नं. ११ मा अवस्थित नमोः बुद्धिस्ट गुम्बामा मनाउने तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलवारीका अध्यक्ष रञ्जित गुरुङले जनाएका छन् ।

तमु ल्होसारको बारेमा कुरा गर्ने हो भने यो पर्वलाई गुरुङ समुदायको नयाँ संवत सुरु भएको पनि मानिन्छ । यो पुस महिनाको १५ गते पर्ने गर्दछ ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूको प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारकै दिन भन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ ।

साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आएको भन्दै नयाँ वर्षको स्वागत गरिने परम्परा रहेको छ । ल्होसारको दिन बिहानदेखि नै भेटघाट, आशीष आदानप्रदान गर्दे नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धूमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेषभुषा (शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु, मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् । त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

गुरुङ जातिहरूले प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, इस्टमित्रहरुसँग रमाइलो गरी ल्होसार मनाउँछन् ।

तमु ल्होसारको अवसरमा भलिबल र हाजिरजवाफ प्रतियोगिता

ल्होसारको अवसरमा आइतबार देखी विभिन्न खेलहरूको पनि आयोजना गरी खेल भइरहेको अध्यक्ष रञ्जित गुरुङले जनाएका छन् ।

आइतबारबाट सुरु भएको भलिबलको फाइनल खेल आज हुदैछ । वाड स्तरीय भलिबल खेलमा बेलबारी भित्रको ८ टिम सहभागी भएका थिए । बेलबारी वाड नं. ३ र वाड नं. ११ का टिम फाइनलमा पुगेका छन् ।

भलिबल खेलका विजेता टिमले रु.१५ हजार नगद पुरस्कार सहित, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेतालाई रु.७ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । ल्होसारकै अवसरमा हाजिरिजवास प्रतियोगितामा आयोजना गरेका थिए । हाजिरिजवास प्रतियोगितामा सोमबार सम्पन्न भएको छ ।

हाजिरिजवास प्रतियोगितामा बेलबारी भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो । बेलबारी १ बाट सगरमाथा इङ्लिस स्कुल, बेलबारी २ बाट शिक्षा सन्देश इङ्लिस, काली मा.वि, करिब मा.वि, बेलबारी ११ बाट माउन्ट एभरेस्ट मा.वि, मोरङ ज्ञानोदय मा.वि, भानुभक्त मा.वि र सिर्दाथ मा.विका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

हाजिरिजवास प्रतियोगितामा शिक्षा सन्देश इङ्लिस स्कुल प्रथम, सगरमाथा इङ्लिस स्कुल दोस्रो र माउन्ट एभरेस्ट इङ्लिस स्कुल तृतीय भएको छ । प्रथमले नगद पुरस्कार रु.३ हजार ५ सय, दोस्रोले रु.२ हजार ५ सय र तृतीयले रु.१ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्