तिला लेकालीको गजल


तिला लेकाली –

                    गजल

दुईहात काख र काँध कोख सबमा लाला र बाला थिए
श्रीमान् बाबु अनि समाज सबका मस्तिष्क काला थिए

बर्सेनि उनका भका भक अहो छोरीहरू ! जन्मिए
छोरी पाई भनेर खान नदिई ती फोस्रा गाला थिए ।

घरमा बास नपाई माइत गइन् बोकेर आशाहरू
पाइनन् तर बास लौ बिचरीले ढोकामा ताला थिए।

फर्किन् छोरीहरू लिएर सँगमा कहाँ जाऊँ र के गरूँ
सकिनन् भिर कट्न लौ ती ममता बाटा भिराला थिए।

घर न घाट भइन् न सीप कसरी चार छोरी पालूँ भयो
उनको भागमाहाँ त अन्न विहीन डोका र डाला थिए।

असारको महिना धुवाउँदो अहो कोसी बगेको थियो
फालिन् छोरीहरू र आफू पनि लौ देख्ने गोठाला थिए।

शिक्षा ज्ञान र सीप केही नदिई बाल विवाह गर्दिए
शिक्षादीक्षा भए यी दिन उनका घामझैँ उज्याला थिए।

(गजल २०७६/०३/२३)

प्रतिक्रिया दिनुहोस्