सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्सानी गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर.टी. फुटबल क्लब, धरान विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा सम्पन्न रोमाञ्चक खेलमा धरानले सतिसाले स्पोर्टिङ क्लब, मोरङलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधिनजिकको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि बललाई पोस्टको जाली चुमाउन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मैदानभर दुवै टोलीका खेलाडीहरूले तीव्र आक्रमण र मजबुत रक्षात्मक खेल प्रस्तुत गरेका थिए ।
दोस्रो हाफ सुरु भएपछि भने धरानले खेलको लय समात्दै लगातार दबाब सिर्जना गर्यो । खेलको २६ औँ मिनेटमा धरानका जर्सी नं. १० का खेलाडी कृष्ण राईले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि थप उत्साहित बनेको धरानले खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का तापन कार्कीमार्फत अर्को गोल थप्दै खेललाई २-० को अवस्थामा पुर्यायो ।
दुई गोलले पछि परेको सतिसाले स्पोर्टिङ क्लबले पनि हार नमान्दै पुनरागमनको प्रयास जारी राख्यो । खेलको दोस्रो हाफको ३५ औँ मिनेटमा सतिसालेका जर्सी नं. २ का खेलाडी साजन बरदेवाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । उक्त गोलसँगै मैदानमा केही समय उत्साह थपिएको थियो ।
तर इन्जुरी समयमा धरानका जर्सी नं. ८ का दोर्जे तामाङले निर्णायक गोल गरेपछि सतिसालेको पुनरागमनको सम्भावना समाप्त भएको थियो । थप गरिएको ३ मिनेटको समयमा गरिएको उक्त गोलले धरानको फाइनल यात्रा सुनिश्चित गर्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका धरानका दोर्जे तामाङ “म्यान अफ द म्याच” घोषित भए । उनले नगद रु. ३ हजार १ सयसहित पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार आयोजक टोली सुन्दर खोर्साने युवा क्लब, मोरङ र सलहेश युवा क्लब, सिराहाबिच हुने भएको छ ।
आयोजकका अनुसार उक्त खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेसँगै सुन्दरहरैँचाको खेल मैदानमा फुटबलप्रेमी दर्शकहरूको उत्साह थप बढ्दै गएको छ ।


