सलहेश बन्यो प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको च्याम्पियन


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ को उपाधि सलहेश युवा क्लब, सिराहाले जितेको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा सम्पन्न अत्यन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा आर.टी. धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सलहेशले उपाधि आफ्नो नाममा लेखाएको हो ।

जेष्ठ २ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल हेर्न हजारौँ दर्शक मैदानमा उपस्थित भएका थिए । खेल सुरु भए लगत्तै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेका थिए । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको सुरुवातमै दुवै टोलीले एक–एक गोल गरेपछि मैदानको माहौल थप रोमाञ्चक बनेको थियो । सलहेश युवा क्लबका विवेक पौडेलले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने त्यसको जवाफमा आर.टी. धरानका मिलन लिम्बुले उत्कृष्ट गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै खेल झनै रोमाञ्चक र आक्रामक बन्दै गएको थियो । दोस्रो हाफमा वर्षाले खेलमा केही अवरोध सिर्जना गर्ने प्रयास गरे पनि खेलप्रेमी दर्शकहरूको उत्साह भने कम भएन । पानी परिरहेका बेला पनि दर्शकहरूले कुर्सी, विज्ञापन बोर्ड, छाता तथा विभिन्न सामग्रीको सहाराले आफूलाई जोगाउँदै मैदानमै बसेर खेलको आनन्द लिएका थिए । झरीमा भिज्दै पनि खेल समाप्त नभएसम्म दर्शकहरूले मैदान नछोड्नु खेलप्रतिको उनीहरूको प्रेम र उत्साहको उदाहरण बनेको थियो ।

दोस्रो हाफमा खेलसँगै केही समय तनावपूर्ण अवस्था पनि सिर्जना भएको थियो । खेलका क्रममा खेलाडीहरूबिच विवाद उत्पन्न भएपछि रेफ्रीको निर्णयलाई लिएर दुवै टोलीका खेलाडी तथा समर्थकहरू असन्तुष्ट बनेका थिए । केही समय मैदानमा हातहालाहालको अवस्था समेत सिर्जना भए पनि आयोजक, सुरक्षाकर्मी तथा व्यवस्थापन टोलीको सक्रियतामा स्थिति नियन्त्रणमा लिइएको थियो । त्यसपछि खेल पुनः सुचारु गरिएको थियो ।

खेलको निर्णायक क्षण दोस्रो हाफमै आएको थियो । सलहेशका खेलाडी डेभिडले गरेको महत्त्वपूर्ण गोल नै टोलीको उपाधि यात्राको आधार बन्यो । त्यसपछि आर.टी. धरानले बराबरी गोल फर्काउने प्रयास गरे पनि सलहेशको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै जित सुरक्षित राख्न सफल भयो ।

उपाधिसँगै सलहेश युवा क्लबले नगद रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको आर.टी. धरान फुटबल क्लबले नगद रु. १ लाखसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी आर.टी. धरान एफसीका दोर्जे तामाङ घोषित भए । उनले नगद रु. २० हजार १ सय पुरस्कार प्राप्त गरेका छन् । फाइनल खेलको “प्लेयर अफ द म्याच” सलहेशका विवेक पौडेल घोषित भए । उनले नगद रु. ३ हजार १ सय प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक सलहेशका योगेश धिमाल बने भने उत्कृष्ट डिफेन्डर आर.टी. धरानका बिकूँ राई घोषित भए । दुवैले जनही रु. ७ हजार १ सय नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट मिडफिल्डरको उपाधि आर.टी. धरानका विवेक राईले जित्दा उत्कृष्ट फरवार्ड सलहेशका राजेश दाहाल बने । उनीहरूले पनि जनही रु. ७ हजार १ सय नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको उदीयमान खेलाडी आयोजक सुन्दर खोर्साने युवा क्लबका अनमोल तामाङ घोषित भए । उनले पुरस्कार स्वरूप स्पोट्र्स साइकल प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार भने संयुक्त रूपमा आर.टी. धरानका कृष्ण राई र सलहेशका राजेश दाहालले हात पारे । दुवैले प्रतियोगिताभर समान ३–३ गोल गरेका थिए । उनीहरूलाई संयुक्त रूपमा रु. ८ हजार १ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

सुन्दर खोर्साने युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताले सुन्दरहरैँचामा फुटबलप्रतिको आकर्षण र खेल संस्कृतिलाई थप उचाइमा पु¥याएको स्थानीयवासी बताउछन् । प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न ८ टिमको सहभागिताले खेललाई अन्तर्राष्ट्रिय स्वरूप दिएको थियो भने युवाहरूमा खेलप्रतिको उत्साह र सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस्