नेकपाले सभामुख पदमा सहमति जुटाउन सकेना


काठमाडौँ, ११ पुस ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभा बैठकमै असर देखिएको छ ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले आज (शुक्रवार) १ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक स्थगित हुने सम्भावना देखिएको छ । ‘आज संसद्को बैठक बस्ने अहिलेसम्म सङ्केत देखिएको छैन । सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘पुस १६ गते अर्को बैठक बस्ने सम्भावना देखिएको छ । यसबारे कार्य व्यवस्था परामर्श समितिले नै निर्णय गर्छ ।’

नेकपाले प्रतिनिधि सभाको बैठक सार्न संसद् सचिवालयलाई आग्रह गरेपछि सचिवालयले यस्तो तयारी गरेको स्रोतले जानकारी दिएको छ । अहिलेसम्म कार्यव्ययस्था परामर्श समितिको बैठक पनि नबोलाइएको नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले बताएकी छन् । हरेक बैठकअघि नियमित रूपमा बस्ने परामर्श समितिको बैठकले यसको निर्णय गर्न सक्ने भुसालले बताइन् ।

प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयन प्रक्रिया हुन्छ । तर सत्तारुढ नेकपाले सभामुख को हुने टुङ्ग्याउन नसकेकाले बैठक सर्ने देखिएको हो । नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले सांसद अग्नि सापकोटालाई सभामुखका लागि अगाडि सारेका छन् ।

अहिले पनि प्रचण्ड पूर्व माओवादीलाई नै सभामुख बनाउने पक्षमा रहेको स्रोतले जानकारी दिएको छ । ‘अहिलेसम्म अध्यक्षले पूर्व एमालेलाई सभामुख दिने भनेर कुनै संकेतसम्म गर्नुभएको छैन,’ एक नेता भन्छन्, ‘एकताअघिको शक्ति बाँडफाँटका बेला पूर्व माओवादीलाई परेकाले यो दाबी स्वाभाविक हो ।’

अध्यक्ष प्रचण्डलाई सभामुख नछाड्न पूर्व माओवादीका केही नेताहरूको दबाब छ । प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन् । सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद पम्फा भुसाल पनि छन् ।

दुई अध्यक्षबिच सहमतिपछि सचिवालय बैठकले सभामुखको उम्मेदवार तय गर्ने नेकपा स्रोतले जनाएको छ । नेताहरूलाई दुई अध्यक्षलाई सहमति गरेर एउटै नाम बैठकमा पेस गर्न सुझाव दिएका छन् ।

पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि सरेको छ । सभामुखमा आजै टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा उनले राजीनामा दिने तयारी थियो । पार्टीले टुंगो लगाएर दुवै अध्यक्षबाट निर्देशन आएपछि मात्र उनले राजीनामा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्