काठमाडौँ,९ पुस । चीन र नेपालको संयुक्त अपरेसनमा १२२ चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ । चार्ली फोक्स्टर’ नाम दिइएको अपरेसनमा एकै दिन काठमाडौँका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरिएको छ ।
चिनियाँ पक्षले दिएको सूचनाको आधारमा करिब तीन महिनादेखि आफूहरूले काम गरिरहेको र चीलीमा आयोजित इन्टरपोलको ८८ औँ सम्मेलनमा चिनियाँ पक्षले नेपाली पक्षलाई चिनियाँ नागरिकहरू नेपालमा बसेर साइबर अपराधको गतिविधि गरिरहेको सूचना दिएपछि त्यसबारे निगरानी रहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका निर्देशक डिआइजी नीरजबहादुर शाहीले बुधवार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
यसैक्रममा काठमाडौँको मनमैजु, महाराजगन्ज र बुढानीलकण्ठका नौ वटा घरहरूमा छापा मारेर ८ महिला र ११४ पुरुष गरी जम्मा १२२ चिनियाँ नागरिकलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरी कारबाही अगाडि बढाइएको छ । थप अपराधमा पनि संलग्न रहेको आशंका छ ।
पक्राउ परेकाहरूको साथबाट ७४७ मोबाइल, ३३१ ल्यापटप, १८ थान सिपियु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सीमकार्ड र ६७ थान पासपोर्ट बरामद भएको र चिनियाँ नागरिकहरूले टुरिस्ट भिसा दुरुपयोग गरेको सीआईबीले बताएको छ ।