९ करोड भन्दा बढी रकम ठगी गरेर फरार घनश्याम श्रेष्ठ पक्राउ


मोरङ, ९ पुस । सयै मानिसहरूको ९ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका मोरङ बेलबारी निवासी सुन व्यवसायी घनश्याम श्रेष्ठ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार घनश्यामलाई मङ्गलवार इटहरीबाट पक्राउ गरिएको हो ।

महँगो ब्याजको प्रलोभन देखाएर २ सय ५० भन्दा बढी स्थानीयको ९ करोड भन्दा बढी रकम उठाएर बेपत्ता भएका श्रेष्ठलाई रकम फिर्ता गराउन र ठगीमा संलग्नलाई कारबाही गर्न माग गर्दै पीडितहरूले विगत केही महिना देखि आन्दोलन गरी रहेका छन् ।

घनश्यामले मजदुरी गर्ने सामान्य परिवारबाट पनि २५ लाख सम्म ब्याजमा रकम लिएका छन् । बेलबारीका स्थानीय पीडित व्यक्ति रमेस सिंह भन्छन्, ‘सालोको पैसा घर बनाउँदा सामाग्री दिने सर्तमा मूल्य बढ्छ भनेर भाकामा दाम काटिराखेको थिए, पैसा फिर्ता दिनु भन्दा आजभोलि भन्दा भन्दै एक वर्ष पुरायो । अहिले सम्म घनश्यामले पैसा दिएको छैन ।’ आफ्नो सबै सम्पत्ति विक्री गर्दा पनि सालोको पैसा तिर्न नसक्ने पीडित सिंह बताउँछन् ।

पीडितहरूले आन्दोलनको क्रममा -याली गर्दै बेलबारी बजार परिक्रमा गर्नुको साथै ४ दिनसम्म बेलबारी १ स्थित श्रेष्ठको घरमा धर्ना समेत दिएका थिए । पीडितहरूको आन्दोलन पश्चात घनश्याम श्रेष्ठकी श्रीमती तारादेवी श्रेष्ठलाई बेलबारी प्रहरीले निगरानीमा राखेको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीमा सोमबार पीडित संर्घष समिति सहित बसेको सर्वदलीय बैठकले घनश्याम लाई उपस्थित नगराएसम्म उनकी श्रीमती तारादेवीलाई प्रहरीको निगरानीमा राख्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्