राजपा सरकारमा नजाने निर्णय


जनकपुरधाम , ८ पुस ।  राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका दुई जना सदस्य शरदसिंह भण्डारी र राज किशोर यादव राजपा सरकारमा नजाने बताएका छन् ।

अध्यक्ष मण्डलका सदस्य भण्डारी, ‘सरकारलाई दिएको समर्थन लिइसकेकाले स्थितिमा कुनै परिवर्तन हुँदैन, फेरि समर्थन गर्ने सम्भावना नरहेको र हामीले सरकारलाई समर्थन दिएको फिर्ता लिइसकेका छौँ, त्यो अवस्थासम्म कुनै परिवर्तन नभएकाले राजपा सरकारमा जादैनौं ।’ सबै अध्यक्ष काठमाडौँ गएपछि नयाँ कन्टेस्टमा के हो, कसो हो, बुझेर केही रणनीति बनाउने तर सरकारमा जाने कुनै सम्भावना भने नरहेको बताएको छ ।

२ जना राष्ट्रियसभाको सदस्य पदका लागि भएको समझदारीलाई नेकपासँग भएको संवादहीनताको स्थिति टुटेको अर्थमा मात्र बुझ्न सदस्य भण्डारीले आग्रह गरेका छन् ।
सङ्घीय सरकारमा राजपा जाने कुरालाई नकार्छन् र राष्ट्रियसभाका लागि सहमति मात्रै भएको हो राजपाको जुन स्टेन्ड थियो त्यो कायम रहेको अध्यक्ष मण्डलका अर्का सदस्य राज किशोर यादवले बताएका छन् ।

समाजवादी पार्टीले सरकार छाडेपछि प्रदेश २ को सत्ता समीकरणमा परिवर्तन आउने चर्चा पनि छ । प्रदेश २ मा राजपा र नेकपा मिलेर सरकार बनाउने चर्चा भइरहेका बेला राजपाका दुवै नेताले ती चर्चामा सत्यता नभएको बताएको छ ।

राजपा र समाजवादी सँगै गठबन्धन बनाएर चुनाव लडेको र गठबन्धनै सरकारमा रहेका कारण प्रदेश सरकारमा कुनै परिवर्तन नआउने र प्रदेश २ को सरकारमा त कुनै विवादै पनि छैन’ त्यसैले यहाँ कुनै फरक पर्दैन’ भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्