समाजवादी पार्टी सरकारबाट बाहिरियो : यादव र राईले पदबाट राजीनामा दिए


काठमाडौँ, ८ पुस ।  उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् ।

केही दिन अघिदेखि सरकारबाट बाहिरिने तयारी गरेको समाजवादी पार्टी नेपालले संविधान संशोधनको सर्तको सम्भव नहुने देखिएपछि बाहिरिनु परेको स्पष्ट पारेको छ । समाजवादी पार्टीबाटै सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन् ।

मन्त्री यादवले राजीनामा दिनुअघि सो पार्टीले मंगबालर नै संसदीय दलको बैठक बोलाइएको थियो । स्वास्थ्य मन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलो पटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो ।

मन्त्री यादवले संविधान संशोधन प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लगेका थिए । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका थिए । मन्त्रिपरिषद बैठकको अन्तमा यादवले संविधान संशोधनको प्रस्ताव राख्न साथ प्रधानमन्त्री ओलीले ‘स्टप’ भन्दै रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्