पशुपति क्याम्पसमा अध्ययनरत एक छात्राको बसको ठक्करबाट मृत्यु : बसमा आगजनी


काठमाडौँ, ७ पुस । पशुपति क्याम्पसमा अध्ययनरत एक छात्राको काठमाडौँको सुकेधारामा बसको ठक्करबाट मृत्यु भएको छ । पशुपति क्याम्पसको बीबीएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तको भक्तपुर–काठमाडौँ चल्ने बा ७ ख ५९२० नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो ।

सोमबार बिहान पौने ६ बजे भएको दुर्घटना पछि गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिए पछि मृत्यु भएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जनाएका छन् ।

पन्तको मृत्युको कारण आक्रोशित भएका विद्यार्थीहरूले बसमा आगजनी, तोडफोड गर्नुको साथै यातायात अवरुद्ध गरेर काठमाडौँको चाबहिल क्षेत्र तनावग्रस्त भएको छ । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

आक्रोशित विद्यार्थीहरूले गाडीमा आगजनी गरेको आरोपमा केही पक्राउ परेका छन् । गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्