गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त


काठमाडौंं, ६ पुस । विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।

उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ कालीकोटको जङ्गलमा छाडेका हुन् ।
अपहरित शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले जानकारी गराएका छन् ।

यद्यपि, घटनामा कसैलाई पक्राउ गरिए–नगरिएको बारे सूचना प्राप्त भइनसकेको उनले जनाए । केही बेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको थियो ।

गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूह विरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो । शनिवार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घण्टा हिँडेपछि इलालाई छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्