भरतपुर महानगरपालिकाले किसानलाई ४ करोड भन्दा बढी अनुदान दिने


चितवन ,६ पुस । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषिलाई प्रमुख प्राथमिकता दिएर कृषि प्रवर्द्धन तथा यान्त्रीकरणका लागि किसानलाई ४ करोड रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ ।

महानगरपालिकाले गत वर्ष चार करोडको हाराहारीमा अनुदान छुटाए भने यस पटक अहिले कृषि प्रवर्द्धन तथा यान्त्रीकरणको लागि ४ करोडभन्दा बढी अनुदान दिन लागिएको मेयर दाहालले बताएकी छन् ।

महानगरपालिकाले नेपाल सरकारको सशर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरूलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको छ । महानगरको आफ्नै बजेटबाट दुई करोड ४७ लाख ५० हजार र नेपाल सरकारबाट एक करोड ७३ लाख रुपैयाँ अनुदान वितरण गर्न लागिएको महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमालले बताएका छन् ।

महानगर कृषि शाखाका अनुसार कृषि यान्त्रीकरण र कृषि बजार प्रवर्द्धनका लागि ८५ प्रतिशतसम्म अनुदानको साथै शाखाका अनुसार कम्ब्राइन्ड हार्भेस्टर धान, गहुँ काट्नेदेखि थन्क्याउनेसम्म मेसिनमा ५० प्रतिशत अनुदान रहेको छ ।

सङ्कलन केन्द्र, प्रशोधन केन्द्र, कोल्ड स्टोर निर्माणमा सबैभन्दा बढी ८५ प्रतिशतसम्म अनुदान छ । कृषि शाखाका अनुसार करार, सामूहिक खेती प्रवर्द्धन कार्यक्रममा २० लाखसम्म अनुदान छ ।

त्यस्तै, फलफूल तथा पुष्प नर्सरी स्थापनाका लागि १२ लाख ५० हजारसम्म अनुदान दिइएको छ । एक वडा एक हाटबजार व्यवस्थापन र प्रवर्द्धनका लागि पनि अनुदान दिने तयारी छ । होमस्टे प्रवर्द्धनका लागि पनि यस पटक पाँच लाखसम्म अनुदान रहेको कृषि शाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्