ल्होसारमा सार्वजनिक बिदाको माग राख्दै गुरुङहरू आन्दोलित


अशोक गुरुङ –
सुनसरी , ६ पुस ।  सुनसरीको इटहरीमा गुरुङहरूले आज (आइतबार) पुस १५ गते को ल्होसार सहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे सङ्क्रान्तिमा सार्वजनिक बिदाको माग राख्दै आन्दोलन गरेका छन् ।

वर्तमान सरकारले तमु ल्होसारको बिदा कटौती गरेका कारण तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् प्रदेश न. १ को आयोजनामा इटहरीमा शान्ति पूर्ण आन्दोलन गरेका हुन । आजै सार्वजनिक बिदाको माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

आन्दोलनको क्रममा गुरुङहरूले नेपालका सम्पूर्ण सांस्कृतिक पर्वहरूलाई सम्मान व्यवहार गर, के नेपाल सच्चै धर्मनिरपेक्ष मुलुक हो सरकार ?, तमु ल्होसारलाई सार्वजनिक घोषणा गर लगायतका नारा लेखिएको कार्डको साथ -याली पनि गरेका थिए ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् प्रदेश न.१ का अध्यक्ष कृष्णराज गुरुङले आन्दोलनलाई सम्बोधन गर्दै आदिवासी जनजातिका पर्व र कला संस्कृतिहरू सम्बन्धित जातिको मात्र नभई सिङ्गो मुलुकको साझा सम्पत्ति भएकाले सार्वजनिक बिदा दिनु पर्ने बताएका छन् ।

तत्कालीन २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरूको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक बिदा दिएकोमा वर्तमान सरकारले कटौती गरी सम्बन्धित समुदायलाई मात्रै बिदा दिने निर्णय गरेको छ । सोही कारण, गुरुङहरूले आन्दोलन गर्नु परेको गुरुङ सङ्गठनका प्रदेश न.१ का सदस्य धर्मराज गुरुङले बताएका छन् ।

शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए अझै सशक्त आन्दोलन गर्ने गुरुङ सङ्गठन मोरङ जिल्लाका प्रचारप्रसार सदस्य कमल बहादुर गुरुङले बताए । उनले भने, ‘राज्यमा विभेद भएको छ, राज्यले ठुलो क्षति भोग्नु पर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्