ठाँटीकाँध गाउँपालिका अध्यक्षको अपहरण: श्रीमती जङ्गलमा फेला परिन


दैलेख, ६ पुस ।  दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही सहित अपहरणमा परेकी उनको श्रीमती इला जङ्गलमा फेला परेकी छन् ।

आइतबार ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ श्रीपाटामा घरबाटै अपहरणमा परेका शाही दम्पती मध्य श्रीमती भेटिए पनि गाउँपालिका अध्यक्ष शाही भने लापता नै छन् । गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

अपहरणकारीले इलालाई बिच जङ्गलमा छाडेर धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । यसअघि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले अपहरण गरेर छाडेको हुनाले । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको अपहरणमा संलग्नता हुनसक्ने अनुमान छ ।

तर प्रहरीबाट भने आधिकारिक पुष्टि आएको छैन । दैलेख प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीका अनुसार खोजी कार्य भइरहेको छ । खोजी कार्यमा दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्