काठमाडौँ, १ पुस । कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले आज (मङ्गलवार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छिन । मङ्सिर १४ को उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन ।
भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ । सांसदहरूलाई सभामुखले शपथ ग्रहण गराउने प्रचलन भए पनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।
उपनिर्वाचनमा भट्टराईले नेपाली काँग्रेसका खेमराज पौडेललाई हराएकी हुन । भट्टराईले २४ हजार ३ सय ९५ मत पाएकी थिइन भने पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।
उक्त क्षेत्रका तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । सोही कारण उक्त रिक्त पदको लागि उपनिर्वाचनबाट भट्टराई निर्वाचित भएकी छिन ।