“ जनताले अझै राम्रो काम गर्न भनी औँला ठडाएका छन् होस गरौँ ”: माधव नेपाल


बेलबारी / पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपालले जनताले अझै राम्रो काम गर्न भनी औँला ठडाएको बताएका छन् । बेलबारीमा शनिवार अनिल पौडेलद्वारा निर्मित वृत्तचित्र ‘एउटा घरको कथा’ सार्वजनिकिकरण कार्यक्रममा मङ्सिर १४ गते भएको सुनसरीको धरान, भक्तपुर र चितवनको उपनिर्वाचको परिणामलाई स्मरण गर्दै वरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन ।

उपनिर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा मेयर, भक्तपुरमा प्रदेश सदस्य र चितवनको भरतपुर महानगरपालिका १६ मा वडा अध्यक्ष, नेकपाले हार व्यहोर्नु परेको थियो । सोही हारको स्मरण गर्दै कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई सचेत रहेर अझै राम्रो काम गर्न वरिष्ठ नेता नेपालले सुझाव दिएका छन् ।
उनले भने, “दाँतमा ढुङ्गा लागेको छ । धरान, भक्तपुर र चितवनको परिणामले ढुङ्गा लागेको छ तर अरू गतिला भएर हैन । हामीले अझै गतिलो काम गर्नु पर्ने भएर हो । जनताले अझै राम्रो काम गर्न भनी औँला ठडाएका छन् होस गरौँ हामी ।”

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले नेताले बाटो बिराए पनि कार्यकर्ताले बाटो नबिराएको बताए । उनले भने, “नेता जताजता जान्छन् कार्यकर्ता त्यता त्यता जाँदैनन् । नेताले बाटो बिराए पनि कार्यकर्ताले बाटो बिराएका छैनन् । नेताले आन्दोलन परित्याग गरे पनि कार्यकर्ताले आन्दोलनमा जनता बुलन्द गरेका छन् । नयाँ पुस्ताहरू अगाडी बढेका छन् ।”

 

कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्टीको स्थापनाको सुरुवात दिनलाई स्मरण गरेका थिए । २००६ सालको वैशाख १० गते पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टीको गठन गरेका स्मरण गर्दै नेपालमा सम्भव नभएको बेला भारतको पश्चिम बङगालको कोलकतामा श्याम बजार स्थित एक घरमा ५ जना मानिसहरूद्वारा गठन भएको बताए ।
उनले भने, ‘उपस्थितको हिसाबले ४ जना मात्र थिए । पार्टीका संस्थापक महासचिव एक पुष्पलाल आफै थिए । दोस्रा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नर बहादुर कर्माचार्य, मोती देवी लगायत थिए । ५ जनाले नेपालमा कम्युनिस्ट आन्दोलनको बिउ रोपे ।’

२०२८ सालको झापा जिल्ला र मोरङ जिल्लामा भएको विद्रोहको स्मरण गर्दै पार्टी कमिटी निर्माण भएको वरिष्ठ नेता नेपालले बताए । मोरङको गाउँ गाउँमा झापाका मुकुन्द न्यौपाने पुगेर कमिटी निर्माण गर्न लागि रहेको बेला आफू पनि काठमाडौँबाट आएको स्मरण गर्छन् । त्यसै बेला नेपाल क्रान्ति सङ्गठन माक्सबादी लेलिनबादी मोरङ स्थापना भएको स्मरण गर्छन्, वरिष्ठ नेता नेपाल ।

त्यसै बेला तात्कालिक नेकपा (माले), मोरङ जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशन २०४४ सालमा, केन्द्रीय कमिटीको बैठकको तयारी बैठक (२०४२) लगायत निरङ्कुश जहानियाँ पञ्चायती दिनहरूमा मिक्लाजुङ – ४, धुम्के, मोरङ स्थित स्व. तिलबहादुर राई (अनन्त) को घर बास बस्न सदुपयोग गरिएको थियो । त्यही कथामा आधारित अनिल पौडेलद्वारा निर्मित ‘एउटा घरको कथा’ वृत्तचित्र बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा शनिवार सार्वजनिक भएको हो ।
सो कार्यक्रम वरिष्ठ नेता नेपालद्वारा स्व. तिलबहादुर राईका श्रीमतीलाई सम्मान पत्र प्रदान गर्दै सह–राई परिवारलाई सम्मान गरिएको छ । उक्त घरलाई जीवन्त राख्न स्थानीय सरकारले संग्रलायको रूपमा सुरक्षित राख्न वरिष्ठ नेता नेपालले आग्रह गरेका छन् ।

कार्यक्रममा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश १ का सामाजिक बिकासमन्त्री जीवन घिमिरे, नेकपाका केन्द्रीय सदस्य गुरु बराल, नेकपाका नेता तथा प्रदेश १ का सहसंयोजक सावित्रीकुमार काफले, घनेन्द्र बस्नेत, नेकपाका मोरङ अध्यक्ष ऋषिकेश पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला सदस्य ईरानराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्