‘औषधी व्यवसायीको हितमा काम गर्छु’


मोरङ, १९ मङ्सिर /  मुलुक सङ्घीय संरचनामा गएपछि पहिलो पटक नेपाल औषधी व्यवसायी सङ्घ मोरङको प्रथम अधिवेशन हुँदैछ ।

अधिवेशनसँगै नयाँ कार्यसमिति निर्वाचित गर्न निर्वाचन पनि हुँदैछ । यही मङ्सिर २० गते हुने निर्वाचनका लागि मोरङमा औषधी व्यवसायीहरूबिच चुनावी सरगर्मी पनि बढेको छ । यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले सक्रियता बढाएका छन् ।

२०३१ सालदेखि विराटनगरको ट्राफिक चौकस्थित ‘संगीता मेडिको’ सञ्चालन गरेर औषधी व्यवसायमा पाइला हाल्नुभएका हरिमोहन श्रेष्ठ सफल व्यवसायीको रूपमा परिचित हुनुहुन्छ ।

आफ्ना दाजुहरू राममोहन श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ र श्याम कुमार श्रेष्ठले २०३१ सालमा स्थापना गरेको संगीता मेडिको नाम परिवर्तन गरेर हाल ‘सौगात मेडिको र प्यासिफिक फर्मा टे«र्डस’ को नामबाट व्यवसाय सञ्चालन गरिरहनु भएको छ । श्रेष्ठ ०५१ सालमा पहिलो पटक नेपाल औषधी व्यवसायी सङ्घ कोसी शाखाको कार्यसमिति सदस्य पदमा चुनिनुभयो ।

त्यसपछि पनि उहाँ सङ्घका विभिन्न पदमा रहेर काम गर्दै आउनुभएको छ । यस अधिवेशनमा भने उहाँले नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्ष पदमा उम्मेदवारी दिएर व्यवसायीहरूको प्रतिनिधिको रुपमा नेतृत्व गर्ने तयारीमा हुनुहुन्छ ।

आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका श्रेष्ठसँग गरिएको कुराकानी :

औषधी व्यवसायी सङ्घको निर्वाचन उम्मेदवारी दिनुभएको छ । चुनावको तयारी कसरी भइरहेको छ ?

सङ्घिय संरचनामा मुलुक गएपछि पहिलो पटक औषधी व्यवसायी सङ्घ मोरङको अधिवेशन हुन गइरहेको छ । मुलुक संघीयतामा गएपछि सङ्घले पनि यसै अनुरूपको विधान तयार र्गयो र चुनाव मार्फत पहिलो पटक जिल्लास्तरमा समितिहरू बन्दै छन् ।

यस अघिसम्म कोसी अञ्चलका व्यवसायी एकै ठाउँमा रहेका थियौँ । अब जिल्लामा सङ्गठित भइरहेका छन् । वर्तमान कार्यसमितिको महासचिव भएकोले अधिवेशन सम्पन्न गर्ने कार्यमा बढी समय दिनु परेको छ । सँगसँगै नयाँ कार्यसमितिमा अध्यक्ष पदको उम्मेदवारी पनि दिएको छ । दोहोरो जिम्मेवारीले गर्दा समय मिलाएर साथीहरूसँग भेटघाट कुराकानी र निर्वाचनको तयारी पनि गरिरहेको छ ।

औषधी व्यवसायको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको भएरै मैले उम्मेदवारी पनि दर्ता गराएको हुँ । यस अघि दुई पटक महासचिव, एक पटक कोषाध्यक्ष र सदस्य पनि भइसकेकोले अहिले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । अहिले भोट माग्न र अधिवेशनको तयारीमा लागि परेको छु । हाम्रो सङ्घमा अझै पनि धेरै व्यवसायी साथीहरू सदस्य हुन बाँकी छन् ।

औषधी विभागमा १२ सय ३१ दर्ता भए पनि हाम्रो सङ्घमा ५२१ मात्र आबद्ध छन् । चुनावी क्रममा मत माग्न जाँदा पनि साथीहरूलाई सङ्घमा आउन आग्रह गरेको छु । आउने दिनमा सङ्घको सदस्य बढाउन लागि पर्ने छु ।

दुई कार्यकाल महासचिव र विभिन्न पदमा रहेर काम गर्नुभयो । नेतृत्वमा रहँदा के–के गर्नुभयो ?

विगत ३२ वर्षदेखि औषधी व्यवसायी क्षेत्रमा क्रियाशील भएर औषधी व्यवसायीहरूको हकहितदेखि सङ्घको लागि महत्त्वपूर्ण योगदान पु¥याएको छु । २०५१ सालमा नेतृत्वमा आएपछि विराटनगर स्थित रहेको नेपाल औषधि व्यवसायी सङ्घको जग्गा खरिद देखि भवन निर्माण समितिमा रहेर काम गरेको सबै माझ जानकारी छ ।

विगतका दिनहरूमा फार्मेसी पढेका वा ‘ओरिएनटेसन’ तालिम गरेकाले मात्र औषधी पसल खोल्न पाउने नियम औषधी व्यवस्था विभागले लागू गरेको थियो । त्यस बेलामा धेरै औषधी व्यवसायीहरूले सञ्चालन गरेको पसल अरूको नाममा रहेको थियो । जसले गर्दा लगानी जोखिममा परेको थियो ।

राजस्व पनि अरूको नाममा नामबाट तिर्नुपर्ने समस्या थियो । यी समस्याको अन्त्य गर्दै नेपाली नागरिक भएका जोसुकैले पनि आफू सञ्चालक भई फार्मेसी पढेका वा तालिम लिएका व्यक्तिलाई राखेर औषधी व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था मेरो कार्यकालमा भएको हो । म महासचिव हुँदा नेपाली नागरिक भएका जोसुकैले पनि फार्मेसी खोल्न पाउने नियम लागु भएको हो ।

आफू नेतृत्वमा पुगे पछि मैले उठाएको एजेन्डालाई स्थापित गराउन सफल भएको छु । म महासचिवमा रहँदा तीन पटक व्यवसायीहरूलाई रिफ्रेसर तालिम सम्पन्न गराएको छु । २०७४ सालको अधिवेशनबाट पुन: दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि अध्यक्ष कुमार खतिवडाको नेतृत्वमा संघलाई थप व्यवस्थित बनाउन सफल भएँ ।

हाम्रो कार्यकालमा संघलाई प्रविधिमैत्री बनाएर औषधी व्यवस्था विभाग विराटनगर शाखामा ‘हेल्प डेस्क’ स्थापना गरी सञ्चालनमा ल्याएको सबैलाई थाहा छ । औषधी व्यवस्था विभाग विराटनगर शाखाको कार्यक्षेत्रमा पर्ने कोसी, मेची र सगरमाथा अञ्चलका औषधी व्यवसायीहरूलाई नवीकरणदेखि नयाँ पसल दर्ता गराउन सहज पहुँच पु¥याउने उद्देश्यले उक्त हेल्प डेस्क स्थापना भएको थियो । हेल्प डेस्क स्थापना भएपछि पहाडी जिल्ला इलाम, धनकुटा र तराइ क्षेत्रका उदयपुर, राजविराजलगायत क्षेत्रका व्यवसायीहरूलाई औषधी व्यवस्था विभागमा काम गर्न सजिलो भएको थियो ।

यसका अलावा कोसी अञ्चल शाखाको मुख्य सहर धरान, इटहरी, इनरुवा, विराटचौक र उर्लाबारी बजारमा व्यवस्थापन इकाई खडा गरी संघलाई सक्रिय बनाइरहेको छ । उक्त इकाईले त्यहाँ रहेका औषधी व्यवसायीहरूमा परेको समस्या तत्काल समाधानको पहल गरेर व्यावसायिक एकता प्रदर्शन गर्दै आएको छ ।

तपाईँलाई नै किन भोट दिने ?

तीन दशक भन्दा बढी समयदेखि औषधी व्यवसायी सङ्घमा आबद्ध भएर व्यवसायीहरूको हक हितमा काम गरेको छु । हरेक दुःख सुखमा साथ सहयोग गर्दै आएको छु । मैले सङ्घमा रहेर लामो समयदेखि गर्दै आएको कामको अनुभव पनि यो क्षेत्रकारलागि महत्त्वपूर्ण छ ।

औषधी व्यवसाय भनेर मात्र हुँदैन यसमा पनि धेरै समस्याहरू छन् । मुख्यरूपमा त सरकारी नीति नियम परिवर्तन भइरहने हुनाले धेरै व्यवसायीहरूले दुःख पाएका छन् । भएका कानुन र नीतिबारेमा जानकारी नहुँदा गाह्रो परिरहेको छ । मैले यी कानुनी जटिलता र नीतिगत अप्ठ्यारो चिर्नका लागि अन्तरक्रिया र छलफल चलाउने एजेन्डा अगाडि ल्याएको छु ।

यसलाई जिल्ला स्तरमा व्यापक रूपमा सञ्चालन गर्ने र त्यसमा नीति नियम, कानुनका बारेमा जानकारी गराउनेदेखि इन्फरमेसन नेटवर्क बनाउने योजना मसँग छ । सरकारी स्तरबाट हुने अनुगमनका कारण व्यवसायीलाई जटिल बनाएको छ । ग्रामीण क्षेत्रमा विभागमा दर्ता नभएका औषधी पसलहरू पनि छन् ।

विभागमा दर्ता भएका पसलहरूलाई मात्र अनुगमन गरिन्छ । तर खुलेआम दर्ता विना सञ्चालन भएका पसलहरूको अनुगमन हुने गरेको छैन । यो कुरालाई पनि विभागलाई अवगत गराउँदै आएको छु । खास गरी सरकारका परिवर्तित स्वास्थ्य नीतिहरूको जानकारीको अभावमा अहिले पनि व्यवसायीले धेरै पीडा भोग्नु परेको छ । यी विषयहरू मैले राम्ररी बुझेको हुनाले मेरो नेतृत्व हुँदा व्यवसायीहरूका समस्या समाधानकारलागि फाइदा हुन्छ भन्ने नै सबै साथीहरूले भनिरहेका छन् ।

मेरो प्राथमिकता भनेको औषधी व्यवसायी साथीहरूको हक हितमा लागि पर्ने हो । यसका अलावा अत्यावश्यक औषधीहरू विभागमा दर्ता छैन । मान्छेको जीवन बचाउन चाहिने अत्यावश्यक जीवन रक्षक औषधीहरूको सहज उपलब्ध गराउन राज्यसँग पनि पहल गर्नेछु ।

तपाईँको टिम समावेशी नभएको भन्नेहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ ?

हामीले योग्य, सक्षम र समावेशी टिम तयार पारेका छौँ । जनजाति, महिला लगायत सबै समेटिएको छ । विपक्षी समूहले चुनावी नाराकोरुपमा मात्र भन्ने आरोप मात्र हुन् । वर्षौँदेखि सङ्घमा आबद्ध भएर क्रियाशील रहेको र पटक पटक साथीहरूले विश्वास गरेको र मैले पनि उहाँहरूको विश्वासलाई सकेसम्म कुठाराघात नगरी काम गरेकोले त्यो नै मेरो जित्ने बलियो आधार हो ।

सक्षम, योग्य र संघलाई नयाँ उचाइमा पु-याउन सक्ने नेतृत्व व्यवसायीहरूले छनौट गर्ने छन् भन्ने मलाई विश्वास छ । तसर्थ सबै औषधी व्यवसायी साथीहरूसँग एक पटक मलाई मतदान गरिदिन विनम्र अनुरोध पनि गर्दछु ।

समृद्ध सङ्घ व्यवसायी एकता सक्षम व्यवसायी र सम्मानित व्यवसाय मेरो प्रतिवाद हो ।
लगातार सङ्घमा रहँदा मैले औषधि व्यवसायी साथीहरूको दुःख सुखमा साथ र सहयोग गर्दे आएको कुरा कसैले होइन भन्न सक्दैन । म बहुसङ्ख्यक व्यवसायीहरूकै आग्रह र अनुरोधमा चुनावको मैदानमा आएको हुँ ।

मैले उहाँहरूको भावनाको प्रतिनिधित्व गरिरहेको छु । म यस अवधिमा हरेक साथीहरूसँग भेटेर समस्याहरू थप बुझेको छु । ती समस्या समाधानकारलागि मेरो सदैव पहल र प्रयत्न रहने छ ।

मुख्य कुरा त मेरो यस व्यवसायमा लगाव, पारिवारिक पृष्ठभूमिदेखि आजको युवा पुस्ता, जसले मेरो क्षमता र योग्यताको पहिचान गरेको छ भन्ने मैले ठानेको छु । जय एन.सी.डी.ए. ।

प्रतिक्रिया दिनुहोस्