पश्चिमी भू-भागबाट मनसुन बाहिरिन थालेको, कर्णाली र सुदूरपश्चिममा अझै केही दिन वर्षाको सम्भावना


काठमाडौँ । नेपालमा मनसुन क्रमशः अन्त्यतिर उन्मुख हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भू–भागबाट मनसुन बाहिरिन थालेको जनाएको हो। तर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन वर्षाको प्रभाव रहिरहने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार ती प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने र हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको विभागले जनाएको छ।

वर्षा र हिमपातको सम्भावनाले कृषि, पर्यटन तथा यातायात क्षेत्रमा असर पार्न सक्ने भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी पहाडी र उकालो सडकमार्गमा यात्रा गर्ने, गोठालो तथा खेतीपातीमा संलग्न किसानहरूले सावधानी अपनाउन सुझाव दिइएको छ।

देशका पूर्वी र मध्य भू-भागमा भने मनसुनको प्रभाव समाप्त भइसकेको विभागले जनाएको छ। यद्यपि, पश्चिमका केही स्थानमा अझै केही दिनसम्म मौसम अस्थिर रहने र छिटपुट वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्