बेतना अन्डर-१९ नकआउट फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा बीएम र सयपत्री विजयी


बेलबारी, मोरङ । बेलबारी-४ स्थित बेतना खेल मैदानमा प्रथम बेतना अन्डर-१९ नकआउट फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ बेतना युनाइटेड क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन दिन दुई खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत बीएम एकेडेमीले ब्रदर्स युनाइटेडलाई १-० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा बीएम एकेडेमीका जर्सी नम्बर १७ का सुवाहाङ राईले खेलको १६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि थप गोल हुन नसक्दा सुवासको गोल नै बीएम एकेडेमीको जितका लागि पर्याप्त बन्यो । निर्णायक गोल गरेका राई खेलको म्यान अफ द म्याच घोषित भए ।

उद्घाटन दिनको दोस्रो खेल भने समूह ‘बी’ अन्तर्गत नलबारी फुटबल क्लब र सयपत्री युथ क्लबबीच भएको थियो । खेलमा सयपत्री युथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै नलबारी फुटबल क्लबलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

सयपत्रीको जितमा जर्सी नम्बर १७ का आशिष तामाङले खेलको ८औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि थप गरिएको समयसहित पहिलो हाफको २३औँ मिनेटमा जर्सी नम्बर ११ का पेसल थामीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पनि सयपत्रीले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ८औँ मिनेटमा पेसल थामीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता थप फराकिलो बनाए । त्यसको पाँच मिनेटपछि अर्थात् खेलको १३औँ मिनेटमा जर्सी नम्बर ८ का श्रवण थापाले गोल गरे । त्यसपछि खेलको १७औँ मिनेटमा जर्सी नम्बर ९ का सृजनहाङ राई र १८औँ मिनेटमा जर्सी नम्बर १४ का सिवेन्द्र राईले गोल थपेपछि सयपत्रीले ६-० को शानदार जित दर्ता गर्‍यो ।

दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका जर्सी नम्बर ११ का पेसल थामी म्यान अफ द म्याच घोषित भए । युवा खेलाडीको प्रतिभा पहिचान, खेलकुदप्रतिको आकर्षण वृद्धि तथा स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता श्रावण ३० गतेदेखि भाद्र ६ गतेसम्म सञ्चालन हुनेछ । बेलबारी-४ स्थित बेतना खेल मैदानमा हुने प्रतियोगितामा १६ विभिन्न युवा फुटबल टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गरिरहेका छन् ।

बेतना युनाइटेड क्लब बेलबारी-४, मोरङको आयोजनामा भइरहेको प्रतियोगितामा एनटी रेस्टुरेन्ट एन्ड क्याफे तथा थकाली खाना, बेतना सिमसार गेटअगाडि, बेलबारी-४ सह-प्रायोजकका रूपमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्