फागुन २१ लाई परिवर्तनको जनमत बनाउन स्वर्णिम वाग्लेको आह्वान


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले देशमा देखिएको राजनीतिक जडताबाट बाहिर निस्कन परिवर्तनको स्पष्ट एजेन्डा आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले त्यही मार्गलाई अघि बढाइरहेको बताएका छन् । रास्वपा तनहुँ-काठमाडौँ सम्पर्क विभागद्वारा आयोजित ‘बृहत् एवं जेनजी भेला’ लाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको सक्रिय राजनीतिक सहभागिता बिना दिगो रूपान्तरण सम्भव नहुने धारणा राखे ।

उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई पुस्तान्तरणको ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै युवाहरूलाई जिम्मेवारीपूर्ण ढङ्गले राजनीतिक प्रक्रियामा जोडिन आह्वान गरे । लोकतन्त्रको सुदृढीकरणका लागि स्थिर र स्पष्ट बहुमत आवश्यक हुने उल्लेख गर्दै उनले मतदातासँग पार्टीलाई बहुमतसहित विजयी गराउन समर्थन माग गरे ।

उपसभापति वाग्लेले पार्टीको संगठनात्मक विस्तार तीव्र गतिमा भइरहेको जानकारी दिँदै देशभरका ७७ जिल्लामा तथा ५५० पालिकामा रास्वपाको संरचना विस्तार भइसकेको दाबी गरे । उनका अनुसार पार्टीमा हाल करिब तीन लाख सक्रिय सदस्य आबद्ध छन्, जसले वैकल्पिक राजनीतिक शक्तिप्रतिको जनविश्वास बढिरहेको संकेत गर्दछ ।

भेलामा बोल्दै उनले सुशासन स्थापना, भ्रष्टाचारविरुद्ध कठोर अभियान, पूर्वाधार विकास, सडक र हवाई सञ्जालको विस्तार, गुणस्तरीय इन्टरनेट पहुँच र ऊर्जा क्षेत्रको सुदृढीकरणलाई पार्टीको प्राथमिक कार्यसूचीमा राखिएको बताए । उनले राजनीतिक संस्कारमा सुधार, पारदर्शिता र जबाफदेहितालाई संस्थागत गर्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्