छोराको जन्मदिनमा, शिक्षा सहयोग : कृष्ण गुरुङद्वारा विद्यार्थीलाई साइकल वितरण


बेलबारी । बेलबारी नगरपालिका वडा नं. ४ निवासी तथा हाल वैदेशिक रोजगारीका सिलसिलामा युकेमा रहका कृष्ण गुरुङले आफ्नो छोरा प्रमिस पोलो लाम्छाने गुरुङको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन् । गुरुङले छोराको जन्मदिनको अवसर पारेर बेलबारी-१० स्थित श्री महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई साइकल वितरण तथा खाजापानको व्यवस्था गरेका हुन ।

गुरुङ हाल युकेमा भए पनि उक्त कार्यक्रम उनकी धर्मपत्नी अन्जिता धिमाल गुरुङको उपस्थितिमा बुधबार सम्पन्न भएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई करिब ५० हजार रुपैयाँ बराबरका साइकल वितरण गर्दै जन्मदिनलाई देखावटी भोजभतेरभन्दा फरक ढंगले मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर गुरुङले जन्मदिनको अवसरमा गरिब तथा विपन्न विद्यार्थीको सहजताका लागि गरिएको सहयोगको प्रशंसा गर्दै प्रमिसलाई शुभकामना व्यक्त गरे । अनावश्यक खर्चभन्दा सामाजिक कार्यमार्फत जिम्मेवारी वहन गर्नु प्रेरणादायी रहेको गुरुङले बताए ।

त्यसैगरी विद्यालयकी प्रधानाध्यापक दीक्षा लिम्बुले व्यक्तिगत रमाइलोभन्दा विद्यार्थीको भविष्यलाई सहज बनाउने उद्देश्यले गरिएको सहयोगलाई असल संस्कारको उदाहरणका रूपमा व्याख्या गरिन । जन्मदिनलाई शिक्षा र सहयोगसँग जोडेर मनाउनु समाजका लागि सकारात्मक सन्देश भएको लिम्बुले बताईन ।

प्रतिक्रिया दिनुहोस्