पराङहामा राइट चान्सको सहकार्यमा विदेश अध्ययन सेवा विस्तार


बेलबारी । बेलबारीमा रहेको पराङहा भाषा केन्द्रले राइट चान्स एजुकेसन कन्सलटेन्सीसँग सहकार्य गर्दै विदेश अध्ययनका लागि भाषा तयारीदेखि अध्ययनका लागि पठाउने सेवाको औपचारिक विस्तार गरेको छ । बुधवार बेलबारी नगरपालिका–१ स्थित पराङहा भाषा केन्द्रमा आयोजित कार्यक्रममा केन्द्रका प्रमुख कर्ण राई र राइट चान्स एजुकेसन कन्सलटेन्सीका म्यानेजिङ डाइरेक्टर रञ्जित पुरीले संयुक्त रूपमा सेवा विस्तारको उद्घाटन गरेका हुन् ।

कोरियन भाषा अध्यापनमा छुट्टै पहिचान बनाइसकेको पराङहा भाषा केन्द्रले अब भाषा शिक्षासँगै जापान, अमेरिका, जर्मनी, युके, क्यानडा, अष्ट्रेलियालगायत विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श, कागजात प्रक्रिया तथा आवश्यक सम्पूर्ण सेवाहरू उपलब्ध गराउने जनाएको छ । यो सेवा पथरीशनिश्चरे नगरपालिकामा रहेको पराङहा भाषा केन्द्रको शाखाबाट पनि एकैसाथ सुरु गरिएको छ ।

कार्यक्रममा बोल्दै पराङहा भाषा केन्द्रका प्रमुख कर्ण राईले विदेश अध्ययनका लागि राम्रो भाषा केन्द्र र भरपर्दो कन्सलटेन्सी खोज्दै काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य हुने बताए । “अब विद्यार्थीहरूले बेलबारी र पथरीशनिश्चरेबाटै गुणस्तरीय भाषा अध्ययन र विदेश अध्ययनसम्बन्धी सम्पूर्ण सेवा पाउन सक्छन्,” उनले भने ।”

राइट चान्स एजुकेसन कन्सलटेन्सीका म्यानेजिङ डाइरेक्टर रञ्जित पुरीले पराङहा भाषा केन्द्रसँगको सहकार्यले स्थानीय विद्यार्थीहरूको समय, खर्च र झन्झट सबै घट्ने र टाढा गएर तयारी गर्नु पर्ने बाध्यताको अन्त्य हुनेमा आशा व्यक्त गरेका छन् । उनले विद्यार्थीलाई सही परामर्श, पारदर्शी प्रक्रिया र विश्वसनीय सेवामार्फत लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षक तथा समाजसेवी राजकुमार लिम्बुले शुभकामना मन्तव्य दिँदै स्थानीय स्तरमै यस्ता सेवाको विस्तार हुनु विद्यार्थी र अभिभावक दुवैका लागि सकारात्मक कदम भएको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्