काठमाडौँ, १६ मङ्सि। नेपाल सरकारको शिक्षा मन्त्रीले शैक्षिक बेथितिको अन्त्यको कुरा गरी रहन्र्दा त्रिभुवन विश्वविद्यालयमा आर्थिक बेथिति देखिएको छ ।
त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको रु १९ अर्व ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ ।
कूल रु बाह्र अर्व १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म रु एक अर्व ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ । गत असार मसान्तसम्ममा रु ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उप्रेतीले बताए ।
आव २०७३–७४ सम्मको बेरुजु र रु १९ अर्व ५३ करोड २२ लाख २८ हजार रहेकोमा २०७५ वर्षमा पुनः रु दुई अर्व ८९ करोड ४२ लाख १९ हजार बेरुजु बढ्न गएको उनले प्रस्तुत गरेको बजेटमा छ । त्रिविले २०७५ चैतमसान्तसम्म रु एक अर्व २९ करोड ९२ लाख १६ हजार बेरुजु फर्छौट गरेको थियो ।
रजिस्ट्रार उप्रेतीले आव २०७३–७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए । त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखा परीक्षक सम्पन्न भइसकेको छ ।
त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेस्की बुझाएमा पेस्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । आव २०६९–७० सालसम्म कायम भएको व्यक्तिगत पेस्की गत फागुन मसान्तसम्म बुझाएमा पेस्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिँदा रु १३ करोड पेस्की फर्छौट भएको थियो ।
रजिस्ट्रार उप्रेतीले आगामी दिनमा कार्य योजना बनाइ पेस्की फर्छौटको कार्यलाई प्राथमिकतामा राखिने बताए । त्रिविले बेरुजुको लागतलाई व्यवस्थित गर्नका लागि विगत १० वर्षको बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा राखिएको छ ।
त्रिविले यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा सुरु गरेको छ । लेखा परीक्षण कार्य सम्पन्न हुन लागेकोले बेरुजु फर्छौट वर्षको रूपमा कार्य योजना बनाइ बेरुजु घटाउने कार्यलाई उच्च प्राथमिकता दिइने जनाइएको छ । त्रिविका ९५ इकाईमध्ये १७ वटाले मात्र लेखा परीक्षण गराउन बाँकी छन् ।