११ वर्षपछि नेपालको ऐतिहासिक जित : आइसिसी टी–२० विश्वकप ए–ईएपी छनोटको उपाधि नेपाललाई


काठमाडौँ । नेपालको क्रिकेट इतिहासमा नयाँ अध्याय लेखिएको छ । शुक्रवार ओमानमा सम्पन्न आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै उपाधि उचालेको छ । योसँगै नेपालले ११ वर्षपछि पहिलो पटक आइसिसीको आधिकारिक प्रतियोगिता जितेको गौरव हासिल गरेको छ ।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै रोकिएको थियो । समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै अपराजित रहँदै नेपालले उपाधि हात पारेको हो ।

यसअघि नेपालले सन् २०१४ मा आइसिसी डिभिजन ४ को उपाधि जितेको थियो । त्यसयता विभिन्न छनोट र अन्तर्राष्ट्रिय प्रतियोगितामा नजिक पुगे पनि नेपाल उपाधिबाट टाढा रहँदै आएको थियो । सन् २०२३ को विश्वकप छनोटमा नेपाल फाइनलसम्म पुगे पनि ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

यस पटक भने सोमपाल कामी, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्र ऐरी लगायतका खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण नेपालले आफ्नो प्रदर्शनलाई नयाँ उचाइमा पुर्‍यायो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो । कुवेत समूहबाट बाहिरिएपछि जापानमाथिको जितबाट प्राप्त अंकसहित नेपाल सुपर सिक्समा प्रवेश गरेको थियो ।

सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईलाई १ रनले हरायो भने दोस्रो खेलमा ओमानमाथि ३८ रनको जित निकाल्दै उपाधिका लागि बलियो प्रत्याशी बनेको थियो । अन्ततः सामोआविरुद्धको निर्णायक जितले नेपाललाई च्याम्पियनको रूपमा स्थापित गर्‍यो ।

यस उपाधिसँगै नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप २०२६ का लागि टिकट कटाएका छन् ।

यता, नेपालको यो ऐतिहासिक जितसँगै राष्ट्रिय टोलीका प्रत्येक खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार खेलकुद विकास नियमावली २०७९ को अनुसूची ४ अनुसार सो पुरस्कार प्रदान गरिनेछ ।

सोही नियमावलीअनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीहरूले जनही ३२ लाख ५० हजार रुपैयाँसम्म पाउने व्यवस्था छ । उपविजेता भएमा जनही २६ लाख र तेस्रो स्थानमा पुगेमा जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

सन् २०२४ को विश्वकप छनोटमा दोस्रो स्थानमा रहँदा खेलाडीहरूले जनही १३ लाख रुपैयाँ प्राप्त गरेका थिए । यस पटक भने उपाधि जित्दै नेपाली टोलीले इतिहास दोहोराएको छ। अपराजित यात्रा, दृढ प्रदर्शन र अटुट आत्मबलका साथ ।

प्रतिक्रिया दिनुहोस्