विपिन जोशीको दुई वर्षअघि नै हत्या भएको खुलासा


काठमाडौँ । हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको झन्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टअनुसार उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको छ ।

नेपाली विद्यार्थी समूहका साथ इजरायलको दक्षिणी भागमा अध्ययनरत जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । लामो समयसम्म उनी जीवित रहेको आशा गरिएको थियो, तर सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको शवको डीएनए परीक्षणपछि त्यो आशा अन्ततः निराशामा परिणत भएको हो ।

रेडक्रसले हमासबाट प्राप्त शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । त्यसपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनमा डीएनए परीक्षण गराएको थियो । परीक्षणको नतिजाले उक्त शव विपिनकै भएको पुष्टि गरेको इजरायली स्रोतले जनाएको छ ।

इजरायली सेनाले यसबारे विपिन जोशीको परिवारलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ । साथै, शव बुझ्नका लागि परिवारलाई अनुरोध गरिएको बताइएको छ ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए, जसमा विपिन जोशी बन्धक बनिएका एक्ला नेपाली थिए । त्यसयता उनको अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका थिए । तर, डीएनए परीक्षणपछि सत्यतथ्य पुष्टि भएको छ कि विपिन जोशीको हत्या हमासले दुई वर्षअघि नै गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्