काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा आफू र आफ्ना पार्टी सहकर्मीहरूलाई लक्षित गरी गरिएको दुर्व्यवहारलाई “घृणित र निन्दनीय” भन्दै यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
मङ्गलवार सानेपास्थित पार्टी मुख्यालयमा बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधनमार्फत बोल्दै देउवाले भदौ २३ र २४ का घटनाले केवल काँग्रेसलाई होइन, लोकतान्त्रिक अभ्यासकै मर्यादालाई चुनौती दिएको बताएका छन् ।
उनले भने, “त्यो घटनामा हामीमाथि गरेको आक्रमण अत्यन्त घृणित र असह्य थियो । सुरक्षाकर्मीले निकै लामो प्रयासपछि हामीलाई उद्धार गरे, तर त्यसपछि पनि हाम्रो प्रतिष्ठा र मर्यादामा आँच पुर्याउने काम भयो ।”
देउवाले घटनाको निष्पक्ष छानबिनको माग गर्दै भने, “यो केवल काँग्रेस वा कुनै व्यक्ति विशेषमाथिको आक्रमण होइन, देशको लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिको अधिकारमाथिको प्रहार हो । त्यसैले तत्काल छानबिन गर्नुपर्छ र दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवा त्यसयता पहिलो पटक सार्वजनिक भएका हुन् । बैठकमा उनले आन्दोलनका जायज मागहरू सम्बोधन गर्नुपर्ने पक्षमा समेत जोड दिएका थिए, तर हिंसात्मक क्रियाकलापलाई लोकतान्त्रिक आन्दोलनको स्वरूप तोडमोड गर्ने प्रयासका रूपमा लिएका छन् ।
देउवाले देशमा शान्तिपूर्ण संवाद, सुशासन र सहिष्णुताको संस्कृतिलाई पुनःस्थापित गर्न सबै दलहरू मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “हामी लोकतन्त्रका रक्षक हौँ, त्यसैले हरेक घटनाको समाधान विधि र संवादबाटै खोजिनुपर्छ ।”