देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए


काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै देउवाले खड्कालाई पार्टी सञ्चालनको जिम्मा दिएका हुन् ।

देउवाले आफू उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको जानकारी दिँदै खड्काले अबको बैठक र पार्टीका सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्ने बताएका छन् । स्रोतका अनुसार उनी सम्भवतः भोलि नै सिंगापुर प्रस्थान गर्नेछन् ।

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका देउवाले पार्टीको आगामी महाधिवेशन तोकिएको अवधिमै हुने स्पष्ट पारेका छन् । उनले भने, “१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिन्न । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई जिम्मेवारी हस्तान्तरण गर्छु।”

सभापति देउवाले काँग्रेसको सङ्गठन सुदृढीकरण, आन्तरिक एकता र पार्टी सञ्चालनमा संस्थागत अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टीको नियमित प्रक्रियाअनुसार महाधिवेशन हुने भन्दै त्यसका लागि तयारी सुरु गर्न नेतृत्व तहलाई निर्देशन दिएका छन् ।

बैठकमा सहभागी नेताहरूका अनुसार देउवाले आफ्नो पाँच पटकको प्रधानमन्त्री कार्यकालका अनुभव पनि सुनाएका थिए । “पाँच पटक प्रधानमन्त्री भएँ, तर पाँच वर्षको पूर्ण कार्यकाल चलाउन कहिल्यै पाइन,” देउवाले भनेका थिए ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापतिको रूपमा अबदेखि पार्टीका सम्पूर्ण निर्णय र सञ्चालन जिम्मेवारी वहन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्