काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकपश्चात् जारी गरिएको सर्कुलरमा प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा अर्थात् फागुन २१ गते हुने गरी तयारी गर्न कार्यकर्तालाई आह्वान गरिएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित सर्कुलरमा भनिएको छ, “निर्वाचन प्रणालीको सम्बन्धमा हाम्रो पार्टीले विगतदेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रिपरिषद् गठन जस्ता मुद्दाहरूलाई आगामी दिनमा पनि निरन्तर उठाइनेछ।”
बैठकले आन्तरिक शुद्धीकरण र संगठनात्मक सुधारलाई पनि प्राथमिकतामा राखेको छ । यस अन्तर्गत नेता–कार्यकर्ताको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन गर्ने, प्रविधिमैत्री कार्यालय तथा समिति विकास गर्ने र हरेक समितिमा एक तिहाइ युवाको अभ्यास सुनिश्चित गर्ने जस्ता कदम उठाइने सर्कुलरमा उल्लेख छ ।
यसबाहेक माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका दलहरूसँग अविलम्ब पार्टी एकताको पहल गर्ने निर्णयसमेत गरेको छ । एकता सम्भव हुने अवस्थामा विशेष महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा रूपान्तरण गर्ने तयारी भएको बैठक निष्कर्षमा पुगेको छ ।
माओवादीको केन्द्रीय कमिटी बैठक यही असोज ९ र १० गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको थियो । बैठकले मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने र यसका लागि हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ । संयोजकको जिम्मेवारी भने अध्यक्ष प्रचण्डलाई दिइएको छ । यस निर्णयसँगै माओवादी केन्द्र आगामी निर्वाचनमा आफ्नो एजेन्डा स्पष्ट पार्दै, आन्तरिक शुद्धीकरणमार्फत संगठनलाई बलियो बनाउनेतर्फ अग्रसर देखिएको छ ।