शिक्षकलाई तलब नदिने प्रधानाध्यापक कारबाहीमा पर्ने : मन्त्री पुन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकलाई तलब रोक्ने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । दसैँ–तिहारको मुखमा पनि विद्यालयहरूले शिक्षकलाई तलब वितरण नगरेको गुनासो बढेपछि मन्त्री पुनले आइतबार (असोज १२ गते) सम्ममा तलब अनिवार्य उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शनिवार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले शिक्षा मन्त्रालयबाट पारिश्रमिकका लागि रकम पहिले नै विद्यालयसम्म पठाइसकिएको स्पष्ट पारे । मन्त्री पुनले भने, “तलब नख्वाउने प्रअहरूलाई सूचना, दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा नगरेको धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।”

उनको यस कडा चेतावनीसँगै शिक्षकले आफ्नो मेहनतको पारिश्रमिक समयमै नपाउँदा परेको मानसिक तनावलाई मन्त्री पुनले गम्भीर रूपमा लिएको देखिन्छ । शिक्षा मन्त्रालयले गत महिना नै तलब वितरणका लागि आवश्यक बजेट पठाइसकेको र अब कुनै पनि कारण देखाउँदै तलब रोकिन नहुने पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्