काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनशैलीलाई लिएर गम्भीर प्रश्न उठेका छन्। बिहीबारदेखि जारी बैठकमा अध्यक्ष दाहाल र उनको परिवारको महँगो जीवनशैलीबारे उठिरहेको सार्वजनिक आलोचना पार्टीकै नेताहरूले बैठकमा उठाए।
बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पन्तले दाहालले लगाएको ६४ लाख रुपैयाँ बराबरको रोलेक्स घडी र उनकी छोरी गंगा दाहालले बोकेको २८ लाख रुपैयाँको लुई भिटन ह्यान्ड ब्यागबारे प्रसारमाध्यममा आएको समाचारलाई औपचारिक एजेन्डा बनाएका थिए। उनले यसबारे स्पष्ट जवाफ माग्दै दुई विकल्प अघि सारे, “यदि समाचार गलत हो भने, तुरुन्तै मिडिया र काँग्रेस सांसद सुनिल शर्माविरुद्ध मानहानिको मुद्दा दायर गरौँ; यदि सही हो भने, त्यसबारे पार्टीले नै ठोस निर्णय लिनुपर्छ।”
पन्तले यी वस्तु उपहारस्वरूप प्राप्त भएको भए बिक्री गरी घाइते जनमुक्ति सेनाको कोषमा रकम जम्मा गर्न सकिने सुझाव दिएका थिए । यस्तै, प्रधानमन्त्रीको हैसियतले प्राप्त भएको भए ती सामग्री सरकारी कोषमा बुझाउनुपर्ने उनको भनाइ थियो । उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उपहार बिक्री प्रकरणमा कानुनी कारबाहीमा परेका उदाहरण दिँदै नेपालमा पनि जबाफदेहीपन कायम गर्नुपर्ने जोड दिए ।
पार्टी बैठकमा भएको यो बहसले अध्यक्ष दाहालमाथि बाहिर उठेका आलोचना भित्रै प्रतिध्वनित भएको देखाएको छ । नेताहरूले अब संगठनात्मक मात्र होइन, व्यक्तिगत जीवनशैलीमा समेत सादगी र पारदर्शिता अपनाउनुपर्ने आवश्यकता जोडदार रूपमा उठाइरहेका छन्।