‘भदौ २३ ले दिएको सन्देश ग्रहण नगरी अघि बढ्न सकिँदैन’ : एमाले सचिव भट्टराई


काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ र त्यसपछिको विध्वंसले मुलुकलाई असाधारण परिस्थितिमा धकेलेको बताउँदै अब पार्टी र आन्दोलनलाई नयाँ चेतनाका आधारमा पुनर्गठन गर्नु अपरिहार्य भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो सन्देशमा उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। भदौ २३ को आन्दोलनले राजनीतिक सत्ता र संरचनामा गहिरो प्रश्न खडा गरेको भए पनि त्यसपछिको २४ गतेको तोडफोड, आगजनी र हिंसात्मक घटनाले आन्दोलनलाई बदनाम बनाएको उनको दाबी छ।

भट्टराईले सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको मागसहित सडकमा उत्रिएका जेन–जीमाथि भएको दमनलाई “न्यायिक छानबिन गर्नुपर्ने घटना” भनेका छन्। तर २४ गतेको घटनालाई उनले “सुनियोजित घुसपैठ र आपराधिक गतिविधिको परिणाम” भन्दै स्पष्ट भिन्नता देखाएका छन्। उनका अनुसार “भदौ २३ मा राखिएको पवित्र मागलाई २४ को हिंसाले विद्रुप बनायो र विश्वसामु लज्जाबोधको स्थिति सिर्जना गर्यो।”

भूराजनीति र अन्तर्राष्ट्रिय शक्ति–केन्द्रको भूमिकाबारे बहस भए पनि भट्टराईले नेपाललाई प्रयोगशाला बनाउन प्रयास नहुनेमा विश्वास व्यक्त गरे। छिमेकी र अन्य मित्र राष्ट्रप्रति धन्यवाद ज्ञापन गर्दै उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा सकारात्मक सद्भाव अपेक्षा गरेका छन्।

सचिव भट्टराईले आत्मालोचना र स्वीकारोक्तिबिना अघि बढ्न नसक्ने स्वीकार गर्दै भने, “२३ भदौले पुष्टि गरिसकेको छ, सबै कुरा ठिकठाक थिएनन्। बदलिएका अपेक्षा र आवश्यकतामा सफल नभएकोमा हामी माफी चाहन्छौँ।”

उनले संविधानको रक्षा, सार्वभौमिकता र राष्ट्रिय एकताको संरक्षणलाई पहिलो शर्तका रूपमा औँल्याउँदै वर्तमान राजनीतिक नेतृत्व र संरचनाबाट मात्रै समाधान सम्भव छ भन्नेमा शंका बढेको पनि स्वीकार गरे। तर उनले निर्वाचनमार्फतै नयाँ पुस्ताको भावना सम्बोधन गर्नुपर्ने र आवश्यक परिमार्जन संविधानले देखाएको बाटोबाटै गर्न सकिने बताएका छन्।

इतिहास स्मरण गर्दै उनले १९९१ मा सोभियत पतनपश्चात मदन भण्डारीले प्रतिपादन गरेको जबजदेखि २०६१ माघ १९ को राजाको ‘कु’ पछिको परिस्थितिसम्म एमालेले पुनर्गठनमार्फत बाँच्न सफल भएको उदाहरण दिए। “आज पनि यही बाटो रोज्नुपर्छ,” उनले भने।

भट्टराईले पार्टी पुनर्गठनलाई नेतृत्वमाथिको आक्रमणको रूपमा नबुझ्न आग्रह गर्दै, “उहाँहरूको सम्मानसहित पुनर्गठन नै इतिहासको रक्षा हो” भने। मार्क्स, लेनिन र ग्राम्सीको विचार उद्धृत गर्दै उनले संकटलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

अन्त्यमा उनले कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायलाई सम्बोधन गर्दै भने, “गल्ती र कमजोरीबाट हामी सिक्नेछौँ। आत्मसमिक्षा गरेर सामूहिक रूपमा समाधान खोजौँ। निराशा स्थायी होइन, परिवर्तन सम्भव छ। अहिलेको समय पार्टी र आन्दोलनलाई पुनर्गठनमार्फत अघि बढाउने निर्णायक घडी हो।”

प्रतिक्रिया दिनुहोस्