काठमाडौँ । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, सुझाव र समस्या पठाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले प्रत्यक्ष भेटघाट वा फोनमार्फत सम्पर्क सम्भव नभएकाले लिखित रूपमा विवरण पठाउन सबैलाई आग्रह गरेका हुन् ।
मन्त्री घिसिङले जनताको विश्वास, अपेक्षा र सुझाव आफूका लागि अमूल्य प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै भनेका छन्, “हामी अहिले जेनजी पुस्ताले खोजेको पारदर्शिता, जबाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेका छौँ ।”
उनले आफू सम्हालेका तीन मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण योजना, परियोजना र पुनर्निर्माण कार्यमा व्यस्त रहँदा सम्पूर्ण फोन उठाउन नसकिएको भन्दै जनतालाई धैर्य गर्न आग्रह गरे । तर, कार्यालयमार्फत प्राप्त भएका प्रत्येक गुनासो र सुझावको अनुगमन भइरहेको र प्राथमिकताको आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी उनले दिएका छन् ।
निर्वाचन तयारी, क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण र दिगो विकासका कामलाई एकसाथ अगाडि बढाउनु अहिलेको चुनौती भएको बताउँदै घिसिङले सबै तहका सरकार, संरचनागत साझेदार र समुदायसँग निरन्तर संवादमै समय बिताउनुपर्ने भएकाले प्रत्यक्ष भेटघाटमा उपलब्ध हुन नसकेको स्पष्ट पारे ।
गुनासो वा सुझाव पठाउँदा पूरा नाम, ठेगाना, सम्पर्क नम्बर स्पष्ट लेख्नुपर्ने, छोटकरीमा विवरण उल्लेख गर्नुपर्ने र आवश्यक भएमा फोटो वा कागजात संलग्न गर्नुपर्ने उनले बताएका छन् । जरुरी विषयलाई “अत्यन्त जरुरी” भनेर सुरुवात गर्न आग्रह गर्दै उनले जनताको साथ, समर्थन र सचेतनाले सरकारलाई अझ सबल बनाउने विश्वास व्यक्त गरे ।
घिसिङले लेखेका छन्, –
आदरणीय दिदीबहिनी एवम् दाजुभाइहरू,
तपाईँहरूको साथ र विश्वास मेरो लागि अमूल्य छ। हरेक दिन तपाईँहरूको चिन्ता, सुझाव र आशाहरू मलाई प्रतिकात्मक रूपमा प्राप्त हुन्छन् र तिनीहरू नै मेरो काम गर्ने प्रेरणा हुन्।
धेरै शुभचिन्तकहरूले फोन, मेसेज र अन्य सामाजिक सञ्जालमार्फत मलाई सम्पर्क गरिरहनुभएको छ, महत्त्वपूर्ण सल्लाह, सुझाव दिइरहनुभएको छ। यहाँहरू सबैले कल र सन्देशहरूमा उठाउनुभएको कुरा सम्बोधन गर्न हामी प्रतिबद्ध भएर लागेका छौँ ।
ठुला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त भएको कारणले, सबै फोनहरू तुरुन्तै उठाउन म सक्षम हुन सकिरहेको छैन । यसमा तपाईँहरूको धैर्यताको अपेक्षा गर्दै म विनम्र क्षमायाचना गर्दछु।
यो व्यस्तता कुनै व्यक्तिगत संवेदनाको अभावले होइन बरु यो तपाईँहरूको भविष्य, सामाजिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि गरिरहेको दृढ प्रयासका कारण हो।
जेनजी पुस्ताले खोजेको पारदर्शिता, जबाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौँ ।
एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामु छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्त्वपूर्ण छ। नेपाली जनताले ठुलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यही हो ।
तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहँदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र यसै सिलसिलामा यहाँहरूले खोजेको समयमा भौतिक रूपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन ।
तपाईँलाई आश्वस्त पार्न चाहन्छु- तपाईँको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउँदछु।
मैले सम्हालेका मन्त्रालयसङ्ग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भए हामीलाई पठाउनुहोला, त्यसका लागि निम्न शैली अपनाइदिनुहोला:
- आफ्नो पूरा नाम, ठेगाना (गाउँपालिका/नगरपालिका/महा-नगरपालिका), र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।
- सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक supporting कागजात/फोटो भए संलग्न गर्नुहोस्।
- अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा “URGENT / अत्यन्त जरुरी” उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।
तपाईँहरूको सुझाव, सचेतना र प्रतिक्रियाले हामीलाई अझै सबल बनाउँछ। तपाईँहरूको माया, समर्थन र निरन्तर प्रेरणाका लागि म हृदयदेखि आभारी छु।
धन्यवाद