शिक्षामन्त्री पुनका तीन निर्णाय : कम्प्युटर शिक्षक अनिवार्य, परीक्षाफल तीन महिनामै र त्रिविमा सफाइ अभियान


काठमाडौँ । नयाँ शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा प्रवेश गरेलगत्तै शिक्षा क्षेत्रमा तत्काल प्रभाव पार्ने तीन ठोस कदम घोषणा गरेका छन् । ‘साना तर महत्त्वपूर्ण पहल’ का रूपमा प्रस्तुत गर्दै उनले शिक्षा प्रणालीलाई समयसापेक्ष, पारदर्शी र व्यवहारिक बनाउन आफू दृढ रहेको बताएका छन् ।

पहिलो कदमअन्तर्गत उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर शिक्षा सुनिश्चित गर्न प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थपिने घोषणा गरेका छन् । यसले ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि डिजिटल शिक्षा पहुँचयोग्य बनाउन सहयोग पुर्‍याउने उनको भनाइ छ ।

दोस्रो पहल उच्च शिक्षा क्षेत्रतर्फ केन्द्रित छ । पुनले केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशित गर्न आठ महिनादेखि एक वर्षसम्म समय लिने गरेको गुनासोलाई सम्बोधन गर्दै अब तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्न निर्देशन दिने स्पष्ट पारेका छन् । निर्धारित समयमै नतिजा प्रकाशित नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन् । उनले राष्ट्रिय परीक्षा बोर्डले तीन महिनाभित्र पाँच लाख विद्यार्थीको कक्षा १२ को नतिजा प्रकाशन गरेको उदाहरण प्रस्तुत गर्दै विश्वविद्यालयहरूलाई द्रुत सुधार गर्न आग्रह गरेका छन् ।

तेस्रो पहल त्रिभुवन विश्वविद्यालय परिसरलाई सरसफाइ र सुन्दरीकरणसँग जोडिएको छ । कीर्तिपुरस्थित त्रिवि परिसरमा रहेका झाडी हटाएर (तर ठुला रुख जोगाउँदै) व्यवस्थित बगैँचा र पदमार्ग निर्माण गर्ने योजना उनले अघि सारेका छन् । पुनको भनाइमा, “विश्वविद्यालय मात्र ज्ञान उत्पादन गर्ने थलो होइन, आकर्षक वातावरणमार्फत अनुशासन र सौन्दर्यशास्त्रको पाठ दिने संस्थान पनि हो।”

प्रतिक्रिया दिनुहोस्