काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार साँझ कारागार फर्किएका छन्।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राजधानीको सुनधारा कारागारबाट अन्य कैदी बन्दीसँगै फरार भएका रायमाझी करिब दुई सातापछि आफैँ उपस्थित भएका हुन्। उनलाई फर्किएलगत्तै सुनधाराबाट डिल्लीबजार कारागार सरुवा गरिएको छ।
जेलबाट बाहिरिएपछि रायमाझीले अवस्था सामान्य भएपछि आफू फर्किने प्रतिबद्धता जनाएका थिए। सोमबार साँझ उनले फोनमार्फत आफू उपस्थित भएको जानकारी गराएपछि कारागार प्रशासनले डिल्लीबजार कारागारमा पु¥याएको हो।
जेनजी आन्दोलनको उग्रतालाई उपयोग गर्दै देशभरका २७ कारागारबाट १४ हजार ५५५ जना कैदी बन्दी फरार भएका थिए। तीमध्ये ६ हजार ९८४ जना फर्किइसकेका छन् भने अझै ७ हजार ५७१ जना फरार रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ। केवल केन्द्रीय कारागार सुनधाराबाट मात्र ३ हजार ५२३ कैदी बन्दी बाहिरिएका थिए।
कारागार प्रशासनका अनुसार हालसम्म कोही आफैँ उपस्थित भएका छन् भने कोही सुरक्षा निकायले पक्राउ गरी पुनः कारागारमा पु¥याइएका छन्। फरार भएकालाई फिर्ता ल्याउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ।
रायमाझीको पुनः उपस्थितिले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै हालकै जेल प्रशासनको चुनौतीपूर्ण अवस्थाप्रति फेरि ध्यानाकर्षण भएको छ। विश्लेषकहरूका अनुसार यो घटनाले कारागार सुरक्षा, प्रशासनिक कमजोरी र राजनीतिक संवेदनशीलता तीनै पक्षलाई सतहमा ल्याएको छ।